काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । गत कार्तिक ७ गते यी दुईजनाविरुद्ध नोटिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोलमा पत्राचार गरेको थियो ।
ज्योति गुरुङ पूर्वमन्त्री एवं कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको नेपाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गरेर उनीहरुविरुद्ध नोटिस जारी गर्न नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको थियो ।
मितेरीको रकम अपचलन गरेको भन्दै सो सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) जाहेरी दिएका थिए ।
गुरुङ र बर्दिया घर भएका ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । भण्डारी कम्बोडियामा लुकेको आशंका गरिएको छ ।