काठमाडौँ । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी त्रिभुवन विमानस्थलबाट प्रहरीलाई धम्क्याएर उम्किएका थिए । अधिकारीले आफू मन्त्री भएको भन्दै परिचयपत्र देखाएर विमानस्थलबाट निस्किएका थिए ।
अधिकारीलाई जापानको टोकियोस्थित विमानस्थल अध्यागमन कार्यालयले मानव तस्कर समूहसँगको साँठगाँठमा उनले लगेका तीन युवासहित गत शनिबार नेपाल डिपोट गरेको थियो । प्रहरीले तीन युवासँगै अधिकारीलाई पनि पक्राउ गर्न खोजेको थियो ।
तर, अधिकारीबाहेकलाई मात्र पक्राउ गरिएको छ । अधिकारीसँगै रहेकी एक महिलालाई पनि प्रहरीशले छाडेको खुलेको छ । मानव तस्करको सेटिङमा अधिकारीले सँगै जापान लगेका रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा छन् ।
जनही १० देखि १३ लाख रुपैयाँ बुझाएर जापान गएको बयान उनीहरुले प्रहरीमा दिएका छन् । ती युवाको बयानका आधारमा प्रहरीले नुवाकोट विदुरका जुगल रिजाल, दोलखा जिरीका वीरबहादुर सुनुवार र धादिङ त्रिपुरासुन्दरीका महेश पाण्डेलाई पनि पक्राउ गरेको छ ।
अधिकारी ती युवालाई लिएर आर्ट्स काउन्सिल टोकियोले गरेको कार्यक्रममा सहभागी हुने भन्दै तीन जनालाई लिएर १४ कात्तिकमा जापान उडेका थिए । संघीय सरकार र प्रदेश सरकारको अनुमतिबिना मानव तस्कर समूहको डिजाइनमा जापान गएका अधिकारीले डिपोट भएर आएपछि राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीको दल एमालेका सांसद भएका कारण अधिकारीलाई प्रहरीले अनुसन्धानको दायार बाहिरै राखेको छ ।