काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने बताएका छन ।
विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आरोप लागाएका हुन । आज (आईतबार) बिहान मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले भने, ‘एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको अर्को चिज छ । एसपीपी भनिन्छ त्यसलाई । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनी पनि सकेको छ ।
यो गम्भिर चिन्ताको विषय छ ।’ उनले थपे, ‘त्यसकारण यो सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने, आफ्नो कुर्सि बचाउनको निम्ति राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होइन ? सैद्धान्तिक सहमति आफैं पनि गम्भिर विषय हो ।
त्यसमा अब सम्झौतै गर्नेतिर जाने हो कि भन्ने स्थिति छ ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता विषयहरुमा जनतालाई सुसूचित गराउने, सतर्क गराउन आवश्यकता रहेको समेत बताएका छन ।
०७९ असार २ गते पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली नेतृत्वको तत्कालीन सरकारले नै एसपीपी सम्झौता गरेको आरोप लगाएका थिए भने तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यसलाई प्रमाणित गर्न प्रचण्डलाई चुनौती दिएका थिए ।