फ्रान्स । गोरखाली समाज फ्रान्सले अधिवेशन, नयाँ निर्वाचन र देउश्री-भैलो कार्यक्रम पेरिसको उत्तरतर्फ जोडिएको ओबरभिलिय शहरस्थित अर्याल निवासमा १० नोभेम्बर २०२४, आइतबार, एकदिने भव्य र उल्लासमय तीन चरणको कार्यक्रम गरी सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाली राजदूत महामहिम सुधीर भट्टराई प्रमुख अतिथि रहनुभएको थियो भने उहाँकी धर्मपत्नीको पनि उपस्थिति थियो। समाजका प्रमुख अभिभावक एवं साहित्यकार हरिहर अर्याल, अभिभावक ई. निर्मल अर्याल, सुक गुरूङ, सुरेन्द्र काप्री, कार्यसमितिका सदस्यहरू, विभिन्न मैत्री संगठनका अध्यक्षहरू, स्थानीय कलाकारहरू, र सयौँ गोरखाली तथा नेपालीहरूको सहभागिता रहेको थियो।
उद्घाटन समारोह
अतिथिहरूको आसन ग्रहणको क्रममा अश्मिता अधिकारी, अश्मिता श्रेष्ठ र नन्दिता अर्यालले गादा लगाई स्वागत गरेका थिए। कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष रामेश्वर श्रेष्ठले गर्नु भएको थियो भने उपाध्यक्ष सुजनराज भट्टले सञ्चालन गर्नुभएको थियो। राजदूतज्यू र सभापतिज्यूले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरेपछि नेपाली राष्ट्रिय गान गाइएको थियो।
यसपछि प्रमुख अभिभावक हरिहर अर्यालले स्वागत मन्तव्य दिनुभयो। ग्लोबल गोरखाली समाजका अध्यक्ष गोकर्ण ढकाल र गोरखाली समाज बेल्जियमका अध्यक्ष राम घलेले पनि कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। राजदूतज्यूको सारगर्भित शुभकामना मन्तव्यपछि सभापति रामेश्वर श्रेष्ठले समाजको गतिविधि र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। सभासद्हरूको जिज्ञासालाई सम्बोधन गर्दै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरियो।
दोस्रो चरण: निर्वाचन प्रक्रिया
दोस्रो चरणमा निर्वाचन कार्यक्रम सम्पन्न भयो। निर्वाचन संयोजक हरिहर अर्यालले सुक गुरूङ र सुजन भट्टराईसँगै निर्वाचनसम्बन्धी नियमावली र प्रक्रिया सुनाएर सहमतिका आधारमा १७ सदस्यीय नयाँ कार्यसमिति घोषणा गर्नुभयो। निर्वाचित समिति यस्तो रहेको छ:
अध्यक्ष: सञ्जीव देवकोटा
उपाध्यक्ष: सुजनराज भट्ट, नानु देवकोटा
महासचिव: सुजन बन्जारा
सहसचिव: राजन सिंखडा
कोषाध्यक्ष: कुल तामाङ
सहकोषाध्यक्ष: बर्ता गुरूङ
सदस्यहरू: जीवन आले मगर, रविना सिंखडा, सम्झना भट्ट, रञ्जित श्रेष्ठ, सबिन राना मगर, कुमार श्रेष्ठ, सुदीप दबाडी, नवराज बगाले, जीत घले, विष्णु दबाडी
निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका सदस्यहरू र राजदूतज्यूले प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गरे। नव निर्वाचित अध्यक्ष सञ्जीव देवकोटाले समाजको लक्ष्य प्राप्त गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभयो।
तेस्रो चरण: देउश्री-भैलो कार्यक्रम
अधिवेशनको औपचारिक कार्यक्रमपछि सांस्कृतिक “देउश्री-भैलो” कार्यक्रम आरम्भ भयो। सुरज भट्ट र बीरू खड्काको सुरिलो आवाजमा प्रस्तुत देउश्री-भैलोले सहभागीहरूलाई मोहित बनायो। कार्यक्रमबाट संकलित दान-दक्षिणाले समाजको आपतकालीन कोषमा करिब २५०० युरोको वृद्धि भयो। भोजनसँगै उल्लासमय वातावरणमा कार्यक्रम राति २२:०० बजे समाप्त भयो।