काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कान्तिपुर मिडिया ग्रुपले केही दिनअघि राजधानीमा गरेको कार्यक्रममा भनेका थिए, ‘त्यही रास्वपा भरे भोलिसम्ममा फेरि ज्ञापनपत्र लिएर आइपुग्छ । तपाईंहरुलाई न्यूज दिउँला म फोटोसहित ।’
ओलीको यो भनाइको पृष्ठभूमि थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ओलीलाई समसामयिक विषयमा मागपत्र समय मागेको थियो ।
रास्वपा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका सभापति रवि लामिछानेलाई छुटाउन होइन, समसामयिक राजनीतिक विषय र जनसरोकारका सवालमा मागपत्र बुझाउन चाहन्थ्यो । तर, पटकपटक खबर पठाउँदा पनि ओलीले समय दिएनन् ।
रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले मागपत्र लिएर जान खोज्दा ओलीले समय नदिएको बताए । ओलीले समय नदिएपछि रास्वपाले आइतबार पत्रकार सम्मेलन मार्फत मागपत्र सार्वजनिक गर्दैछ ।
‘सरकारलाई केही माग राख्दैछौं राजनीतिक माग राखेर । सरकार जसरी चलिरहेको छ । दुई चारजना थुन्दैमा सहकारी पीडितले पैसा पाउँने ग्यारेण्टी छैन । जनतामा भ्रष्टाचार र निशारा व्याप्त छ । सरकारले केही काम गरेको छैन । संविधान संशोधनको बुँदा राखेर गठबन्धन बनाइयो, त्यसमा पनि काम केही गरिएको छैन’, झाले भने, ‘प्रधानमन्त्रीलाई भेटेर यही विषयमा मागपत्र बुझाउन चाहन्थ्यौं । तर, बिना काममा घण्टौं समय बर्बाद पार्ने प्रधानमन्त्रीले जनसरोकारका गम्भीर सवालमा हाम्रो माग बुझ्न समय दिनुभएन ।’
‘कान्तिपुर कन्क्लेभमा केही दिनमा ज्ञापनपत्र बुझाउन आँदैछन्, फोटोसहितको समाचार दिउँला’, भन्ने ओलीको अभिव्यक्तिपछि भने आफूहरु उनलाई नभेट्ने निस्कर्षमा पुगेको झाले बताए ।
झाले प्रतिनिधिसभाको चौथो शक्तिलाई प्रधानमन्त्रीले नजर अन्दाज गरेर हेपेको आरोप लगाए । ‘जनमतबाट संसदको चौथो शक्तिमा स्थापित भएको हाम्रो दललाई प्रधानमन्त्रीले हेपेको जस्तो व्यहार गर्नुभयो । ज्ञापनपत्र लिएर आउँछन् । फोटोसहित समाचार दिन्छु भन्नुभयो । त्यसैले हामी अब जाँदैनौं ।’
उनले प्रतिपक्षको काम नै खबरदारी गर्ने भएकाले सडकबाट रचनात्मक विरोध गर्दा कुरै सुन्न नचाहने प्रवृत्ति लोकतन्त्रका लागि पाच्य नहुने टिप्पणी गरे । सभापति रवि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गएिपछि रास्वपाका उपसभापतिद्वय डोरप्रसाद (डीपी) अर्याल र स्वर्णिम वाग्लेले प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमा भेटेका थिए ।
उक्त भेटलाई पनि सत्ताधारीहरुले रास्वपा लत्रिएर रोइकाराई गर्न आएको रुपमा अथ्र्याएको निस्कर्ष सो पार्टीले निकालेको छ ।