काठमाडौं । झाँक्री प्रकाश भुजेलले आफूले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका दम्पतीका आश्रित परिवारलाई ५२ लाख क्षतिपूर्ति दिने भएका छन् । प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र जनप्रतिनिधिको मध्यस्थतामा आइतबार भएको दुई पक्षबीचको वार्तामा उक्त सहमति भएको हो ।
मृतकका परिवारले एक करोड माग गर्दै आएकामा ५२ लाखमा सहमति भएको हो । भुजेलले चलाएको बा१९च२६९५ नम्बरको गाडीले बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा गत २८ कात्तिकमा इन्द्रायणीमा ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो ।
नारायणको सोही दिन र सानुमायाको उपचारका क्रममा दुई दिनपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
क्षतिपूर्ति रकममा सहमित हुन नसक्दा पीडित परिवारले शव उठाएको थिएन ।
भुजेल हाल प्रहरी हिरासतमा छन् । प्रहरी वृत्त बौद्धले भुजेलविरुद्ध सवारी तथा यातायात ऐन–२०४९ को सवारी ज्यान महलअन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।