१२ माघ २०८१, शनिबार
Follow Us

जहाज खरिदमा घुस दिलाएका नेपाली मूलका बेलायती व्यवसायी शर्मा दोषी ठहर

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०८१, सोमबार १३:५०

काठमाडौँ । नेपाल वायुसेवा निगमको ठूलो आकार (वाइड बडी) जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको भन्दै नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा दोषी ठहर भएका छन् ।

अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) को घुसविरुद्ध प्रावधान उल्लंघन गरेको ठहर गर्दै शर्मालाई एफसीपीएले दोषी ठहर गरेको हो । यसबारे एफसीपीएले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

वायुसेवा निगमको दुई थान ‘ए३३०-२००’ सिरिजका वाइड बडी जहाज खरिद–बिक्री प्रक्रियामा शर्मा ‘एजेन्ट’ का रूपमा देखिएका थिए ।

निगमलाई अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दुई थान वाइड बडी जहाज बिक्री गरेको थियो । त्यसका लागि निगमले २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।

एएआर जहाज खरिद-बिक्री, भाडामा दिने अमेरिकी कम्पनी हो । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको जहाज खरिद गरे पनि लिजिङ कम्पनी एएआरमार्फत खरिद गरेको थियो ।

सोही एएआरको प्रतिनिधिका रूपमा शर्माले वायुसेवा निगमसँग जहाज खरिद–बिक्रीको मध्यस्थता गरेका थिए । शर्मा एएआर अन्तर्गतको इन्टिग्रेटेड सोलुसन्सका पूर्वअध्यक्ष पनि हुन् । अहिले उनी एयरक्राफ्ट फाइनान्स जर्मनीमा कार्यरत छन् ।

एएआरको हालै प्रकाशित वार्षिक प्रतिवेदनमा वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा घुस लेनदेन भएको एफसीपीएको अनुसन्धान खुलासा भएको थियो ।