बेइजिङ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन्।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ । ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनफिङसँग शिष्टाचार र प्रधानमन्त्री ली खछ्याङसँग द्वपक्षीय भेटवार्ता गरेका थिए ।
भेटमा ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा खेलकुद रंगशाला र काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेका थिए ।
भ्रमणको उपलब्धीमा ती दुई योजना पनि समावेश भएपछि नेपालमा त्यसलाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् । ८७ सदस्यीय जम्बो टोलीले नतृत्व गर्दै ओली सोमबार चीन गएका थिए । गत असार अन्तिम साता प्रधानमन्त्री भएका ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।