१२ माघ २०८१, शनिबार
Follow Us

एनआरएनए यूकेको निर्वाचन जुलाई १२ तारिखमा हुने

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०८१, आईतवार १५:०८


सदस्यता वितरण सुरु १५ जनवरीबाट

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको काउन्सिल बैठक आगामी मार्च महिनाको पहिलो साता हुने भएको छ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङ्गको अध्यक्षतामा आइतवार अल्डरशटमा बसेको बैठकले काउन्सिल बैठक मार्च २ तारिख आइतवार, अल्डरशटमा आयोजना गर्ने निर्णय गरेको हो।

सो बैठकमा बेलायतस्थित सम्पूर्ण सामाजिक संघसँस्थाहरुको प्रतिनिधित्व रहने छ। सो बैठक सम्पन्न गर्नको लागि उपाध्यक्ष लिलाराम निउरेको संयोकत्वमा एक उपसमिति गठन गरिएको छ।

बैठकमा गैरआवासीय नेपाली संघका सल्लाहकार चिरन्जीबी ढकालले एनआरएनए यूकेले गरेका गतिविधिले समाजमा सकरात्मक सन्देश दिएको बताए। उनले गैरआवासीय नेपाली संघको निर्वाचनको विषयलाई लिएर एनसीसीहरुलाई अन्योलमा नपर्न आग्रह गरे। उनले गैरआवासीय नेपाली संघको अभियानमा भूतपूर्वगोर्खाहरुको महत्वपूर्ण भूमिका रहेको बताए।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले गैरआवासीय नेपाली संघका गतिविधिका बारेमा प्रकाश पारेका थिए।

बैठकमा बोल्दै गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटाले राष्ट्रिय समिति स्वायत्त भएको हुँदा नियमित कार्यक्रम अघि बढाउन आग्रह गरे। उनले नेपालको न्यायलयले संस्थाको वैधानिकताको बारेमा निकास दिएकाले निर्धक्क भएर साझा एनआरएनए बनाउ लागि सुझाव दिए।

एनआरएनए गोर्खा कार्यदलका संयोजक चन्द्र बहादुर गुरुङ्गले बेलायतमा नेपाली भाषा कक्षाको आवश्यकता रहेको विचार व्यक्त गरे। उनले एनआरएनए यूकेको अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताए।

बैठकले गैरआवासीय नेपाली संघको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि – ३१ मेभित्र गर्ने निर्णय गरेको छ। गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन आगामी १२ जुलाईमा एमआईएसको प्रयोग गरेर अनलाईन मार्फत मतदानको व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ। बैठकले एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडालाई निर्वाचन समितिको संयोजक तोकिएको छ। सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ। बैठकले जुनको पहिलो साता एउटा च्यारिटी कार्यक्रम (अर्न एण्ड एजुकेट) को आयोजना गर्ने निर्णय गरेको छ।

एनआरएनए यूकेको सदस्यता प्रमाणीकरणको लागि अध्यक्ष हितकाजी गुरुङ्ग, महासचिव गोविन्द खरेल, कोषाध्यक्ष विष्णु खरेल र निर्वाचन आयुक्त रहेको एक समिति गठन गरिएको छ।

बैठकमा गैरआवासीय नेपाली संघका सल्लाहकार चिरन्जीबी ढकाल, उपाध्यक्ष रामशरण सिमखडा, उपमहासचिव सोम सापकोटा, आइसीसी सदस्यहरु चन्द्र बहादुर गुरुङ्ग, विष्णु चालिसे, चिरन शर्मा, डा. मुकुन्द बास्तोला र सरस्वती केसीको उपस्थिति थियो। यस्तै, बैठकमा बसन्त श्रेष्ठ, रत्न अर्याल (स्याङ्गजा), राजेशमणी लामिछाने, कोश्लेश्वर ढकाल (कृष्ण), एनआरएनए नर्दन आयरल्याण्ड अध्यक्ष बल बहादुर थापा, सरोज थापा, एनआरएनए इंल्याण्ड राज्यपरिषद अध्यक्ष शम्भुप्रसाद अर्याल, नारायण फुयाँल, तिलक भट्टराई, मनिष खत्री, लिलाराम निउरे, कृष्ण भण्डारी, हेम गुरुङ्ग, विमल गुरुङ्ग, विनिता बस्नेत, कोषाध्यक्ष बिष्णु खरेल, एनआरएनए यूके महिला संयोजक रोजिना गुरुङ्ग लगायतको उपस्थिति थियो। बैठकको संचालन महासचिव गोविन्द खरेलले गरेका थिए ।

बैठकमा कराते सिल्भर मेडल विजेता संन्जित राईलाई स्वागत तथा सम्मान गरिएको थियो।