३१ असार २०८२, मंगलवार
Follow Us

परराष्ट्रमन्त्री देउवा र जनसम्पर्क समिति नेदरल्याण्डबीच अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०८१, मंगलवार १६:१४

लण्डन । युरोप भ्रमणमा रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेदरल्याण्डस्थित नेपाली समुदायसँग अन्तरक्रिया गरेकी छन्।

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका अध्यक्ष सालिक गौतमका अनुसार, देउवाले सोमबार आम्सटर्डममा आयोजित कार्यक्रममा बोल्दै विदेशमा बस्ने नेपालीहरूको नेपालको विकासमा महत्वपूर्ण भूमिका हुने बताइन्। उनले गैरआवासीय नेपाली समुदायको हक र हितका लागि नेपाल सरकारले निरन्तर काम गरिरहेको र उनीहरूको अधिकार सुनिश्चित गर्ने प्रक्रियामा जोड दिएको जानकारी दिइन्।

परराष्ट्रमन्त्री देउवाले नेपाल सरकार विदेशमा रहेका नेपालीलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको चर्चा गर्दै, गैरआवासीय नेपाली संघको विवाद समाधानको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाइन्। साथै, उनले प्रोटुगल लगायतका देशहरूमा नेपालीहरूको राहदानी वितरणमा समस्या समाधान गर्न छिटो कदम चाल्ने आश्वासन पनि दिइन्।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका सभापति गौतमले राहदानी वितरणमा भएका समस्याहरू र नेपाली जनसम्पर्क समितिहरूलाई नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी गराउने विषयमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका पूर्वअध्यक्ष नारायण आचार्यसहित समितिका अन्य पूर्व र वर्तमान पदाधिकारीहरूको उपस्थिति थियो।

मन्त्री देउवा बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र नेदरल्याण्डमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुन युरोप भ्रमणमा आएकी हुन्।

धेरै पढिएको