२५ असार २०८२, बुधबार
Follow Us

रोचना घिमिरेले जितिन् ‘एनआरएनए खुल्ला वक्तृत्वकला’ प्रतियोगिता

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०८१, शनिबार १९:१९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित खुला अन्तराष्ट्यि वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम पुरस्कार जितेकी छन् ।

शनिबार भरर्चुअल माध्यममा आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उनले रु २ लाख नगद पुरस्कार प्राप्त गरिन् ।

यस्तै, पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु १ लाख पुरस्कार प्राप्त गरेका छन् ।

तेस्रो स्थान हासिल गर्दै रसियाबाट सहभागी समिरा केसीले रु ५० हजार नगद पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कार नगद रु ३० हजार जितेकी छन् ।

प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो । यो गैरआवासीय नेपाली संघले आयोजना गरेको दोश्रो संस्करण थियो । यसअघि गैरआवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रले पहिलो पटक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।

निर्णायक मण्डलमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र पूर्व मिस नेपाल सुगरिका केसी रहेका थिए ।

एनआरएनए इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीहरुलाई एउटै मञ्चमा ल्याउनुका साथै भविष्यमा अगाडी बढ्न थप हौसला प्रदान गरेको बताउँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमको संयोजन चित्र कार्कीले गरेका थिए ।

गैरआवासीय नेपाली संघको समेत सहयोग रहेको सो कार्यक्रमले सहभागीहरुको वक्तृत्व क्षमता प्रदर्शन गर्न र नेपाली भाषा–संस्कृतिको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष डा. बद्री केसीले बताए । उनले सम्पूर्ण विजेतालाई बधाई दिँदै दोस्रो पुस्ताका नेपालीहरुको उत्साहपूर्ण सहभागिता रहेको भन्दै खुशी व्यक्त गरे ।

एनआरएनए इजरायलले आफ्नो १७ औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए भने २ जना अतिथी वक्ताहरु ओजस्वि आचार्य र पेन्सा रेग्मी उपस्थित थिए ।

धेरै पढिएको