लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनको तयारी शुरु भएको छ। संस्थाले आगामी कार्यकाल २०२५–२०२७ को लागि राष्ट्रिय समितिको सदस्यता वितरण प्रक्रिया शुरू गरेको जानकारी दिएको छ।
एनआरएनएले आगामी जुलाई २०२५ भित्र राष्ट्रिय समितिको निर्वाचन सम्पन्न गर्ने योजना बनाएको छ। त्यस्तै, अक्टोबर २०२५ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को १२ औं महाधिवेशन र निर्वाचन पनि गर्नुपर्ने वैधानिक व्यवस्था रहेको संघले जनाएको छ।
गत अक्टोबर २०२३ मा सम्पन्न ११ औं महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यसमितिलाई सर्वोच्च अदालतले वैधता दिएको थियो। त्यसपछि १२ औं महाधिवेशनको तयारी थालिएको हो।
सर्वोच्च अदालतको अगष्ट २०२४ मा गरेको पछिल्लो फैसलामा ११ औं महाधिवेशनलाई संस्थाको नियमित प्रक्रिया र वैधानिक प्रक्रिया मानी स्वीकार गरिएको थियो। अदालतले महाधिवेशनको प्रक्रिया संस्थाको स्वतन्त्रता, सार्वभौमसत्ता र अधिकारसम्पन्न निकायबाट गरिएको कार्यका रूपमा मान्यता दिएको हो।
यसअघि गैरआवासीय नेपाली संघ यूके, अष्ट्रेलिया लगायतका विभिन्न देशहरूले पनि सदस्यता वितरण गर्ने निर्णय गरिसकेका छन्।