२९ पुष २०८१, सोमबार
Follow Us

थाईल्याण्डमा ‘एनआरएनए युवा सम्मेलन’ हुने

नेपालब्रिटेन डट कम्
१४ पुष २०८१, आईतवार ०६:०८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा थाईल्याण्डको बाङ्ककमा विश्व युवा सम्मेलन आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापाका अनुसार, यो सम्मेलन आगामी मार्च महिनाको १५ र १६ तारिखमा आयोजना हुने तयारी छ।

‘युवाहरुको सशक्तिकरण र पिएनओको भविष्य’ भन्ने मूल नाराका साथ आयोजना हुने यस सम्मेलनमा विश्वभरका तीन दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने गैरआवासीय नेपाली संघ थाईल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए ।

सम्मेलनमा पिएनओ (पिपुल अफ नेपाली ओरिजिन), समृद्ध नेपालको विकासमा दोस्रो पुस्ताको योगदान, एनआरएनएको १० अर्ब लगानी, विदेशमा दोस्रो पुस्ताले सिकेका ज्ञान र सीपको ट्रान्सफर लगायतका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सम्पूर्ण सम्मेलनको व्यवस्थापन गैरआवासीय नेपाली संघ थाईल्याण्डले लिएको छ। एनआरएनए थाईल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनलाई सफल बनाउन विश्वभरका गैरआवासीय नेपालीहरूलाई सक्रिय सहभागिताका लागि अपील गरेका छन्। सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु, सल्लाहकार, पूर्वअध्यक्षहरु लगायत नेपाल सरकारका उच्चअधिकारीहरुको सहभागित रहनेछ।

गैरआवासीय नेपाली संघको आयोजनामा नेपाल बाहिर आयोजना हुने यो पहिलो युवा सम्मेलन हो। यसअघि नेपालमा गैरआवासीय नेपाली युवा सम्मेलनको आयोजना भइसकेको थियो।