लण्डन । डायस्पोरामा रहेका नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को सभापतिमा सोनाम लामा (अमेरिका) सर्वसम्मतले चयन भएका छन ।
काठमाडौमा आइतवार सम्पन्न यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनले लामाको सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपसभापतिमा प्रेमबहादुर गाहा मगर (युके), शशि चन्द्र अधिकारी (अमेरिका), पासाङ रिन्जी शेर्पा (युएई), भोमा देवी लिम्बु (अष्ट्रेलिया) र यम कुमार गुरुङ त्रिलोक (हङकङ) चयन भएका छन ।
यस्तै महासचिवमा कुशल के।सी (अष्ट्रेलिया), सचिवमा संगिता कार्की कुवँर (कोरिया), कोषाध्यक्षमा उल्का घिमिरे (बेल्जियम) चयन भएका छन भने एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा ना मिन ग्योङरलक्ष्मी गुरुङ (दक्षिण कोरिया), युरोप क्षेत्रीय संयोजकमा पदम बहादुर गुरुङ (बेल्जियम), ओसियाना क्षेत्रीय संयोजकमा विजय पौडेल उपाध्याय (अष्ट्रेलिया), ओसियाना उपसंयोजकमा सुशान्त शर्मा (अष्ट्रेलिया) चयन भएका छन ।
यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र वार्षिक साधारण सभा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको उपस्थितिमा शनिबारदेखि काठमाडौँमा सुरु भएको थियो । ‘दिगो नेपालका लागि डायस्पोरा संलग्नता’ नाराका साथ भएको कार्यक्रममा पहिलो दिन जलवायु परिवर्तन, नेपालमा यसको प्रभाव र जलवायु जोखिमहरूका साथै ब्रेन ड्रेनको प्रमुख मुद्दालाई सम्बोधन गर्न विश्वभरका डायस्पोरा प्रतिनिधिहरू, समुदायका नेताहरू र स्थानीय सरोकारवालाहरूबीच गम्भीर छलफल भएको थियो ।
७० जना उपस्थित रहेको पहिलो महाधिवेशनका लागि करिब ३० बढी देशका प्रतिनिधि काठमाडौं आएको आयोजकले दावी गरेको छ ।