२९ पुष २०८१, सोमबार
Follow Us

सूर्यदर्शन सहकारी ठगीमा सरकारी वकिलको बहस सकियो

नेपालब्रिटेन संवाददाता
१७ पुष २०८१, बुधबार १३:३४

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी मुद्दाको दोस्रो दिनको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो ।

सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका हुन् । यसअघि मंगलबार सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेकी थिइन् । योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको छ ।

भोलिदेखि जाहेरवालाको तर्फबाट बहस हुने कास्की अदालतले जनाएको छ । जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ । जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाइ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।