काठमाण्डौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार बिहान बेलायत प्रस्थान गरेका छन्।
कोइराला बेलायतको एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत जान लागेका हुन्।
कोइरालाको विदाइका लागि नेपाली कांग्रेस र तरुण दलका कार्यकर्ता त्रिभुवन विमानस्थलमा उपस्थित थिए। उनीसंगै कोइरालाका व्यक्तिगत सचिव दिनेश थपलिया पनि बेलायतको भ्रमणमा सहभागी हुने छन्। उनी कतार एरवेज मार्फत साँझ १० बजे लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिने तयारीमा छन् ।
कोइरालाले १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने छन्।
उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ।
कोइरालाले नेपाली दूतावास लण्डनद्वारा शुक्रबार आयोजित एक कार्यक्रममा वेलायतस्थित नेपाली समुदायका अगुवाहरूसँग पनि अन्तरक्रिया गर्ने छन्।
कोइरालाले बेलायतमा रहदा बेलायती सभामुखसँगको भेट, अलपार्टी पार्लियामेन्टरी समूह बैठकमा सहभागिता, र अन्य महत्वपूर्ण भेटघाटका कार्यक्रमहरूमा सहभागी हुनेछन्। उनले १६ जनवरी शुक्रबार नेपाल फर्कने कार्यक्रम तय गरेका छन्।