लण्डन । बेलायतस्थित नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरण तथा निर्वाचन प्रकृयाका विषयमा रहेको किचलो तत्काल अन्त्य गरि नयाँ महाधिवेशनको मिति तय गर्न माग गरिएको छ ।
नेपाल पत्रकार महासंघको गत जेठ २३ गते (जुन ५, २०२४) को परिपत्र अनुसार नेपाल पत्रकार महासंघ बेलायत शाखाको स्थगित अधिवेशनको नयाँ मिति तय गर्न शाखाका सदस्यहरुले माग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन तयारी समितिका संयोजक दिनेश परियारले नवनिर्वाचित कार्यसमितिको लागि अध्यक्ष निर्मला शर्मालाई एक पत्र माफर्त अधिवेशनको मिति तय गर्न र केन्द्रीय प्रतिनिधि पठाउन आग्रह गरेका छन् ।
यसअघि नेपाल पत्रकार महासंघले बेलायत शाखा (एफएनजे युके) को छैठौं अधिवेशन स्थगित भए पछि शाखाका नाममा संस्थाको विधान विपरित भएका गतिविधि रोक्नको लागि गत मंसिर २० गते पत्राचार गर्दै नयाँ महाधिवेशनको मिति तय हुने जनाएको थियो ।
नेपाल पत्रकार महासंघको पत्र बमोजिम महाधिवेशनमा जाने र नजाने विषयमा वेलायतस्थित पत्रकारहरु बिभाजित हुदाँ संस्थाभित्र विवाद चर्किएको हो ।
परियारले नेपाल पत्रकार महासंघको पत्र अनुसार जुलाई महिनामा भएको महाधिवेशन स्थागित भएको जानकारी दिए ।
परियारले नेपाल पत्रकार महासंघ बेलायत शाखामा रहेका सदस्यता सम्बन्धी विवाद समाधान गर्ने गरी तयार गरिएको ५९ जना सदस्यहरुको नामावली नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा दर्ता गरेको बताए ।
नेपाल प्रेस यूनियन बेलायतका अध्यक्ष बिपिन निरौलाले नेपाल पत्रकार महासंघ बेलायत शाखामा सदस्यताको लागि आवेदन दिएका शतप्रतिशतको आवेदन रद्ध गरेर अधिवेशनमा जानु अवैधानिक र अन्यायपूर्ण भएको बताए । उनले नेपाल पत्रकार महासंघ बेलायतको पूर्वकार्यसमितिसंग नेपाल प्रेस युनियन बेलायतले गरेको पूर्व सम्झौता अनुरुप शाखामा सदस्यता वितरण हुनु पर्ने माग गरे ।
उनले गत जुन महिनामा सदस्यता वितरणमा शाखामा भएको व्यापक अनियमिताको छानविन गरी तत्काल नेपाल पत्रकार महासंघ बेलायत शाखाको छौटौ महाधिवेशनको मिति तय गर्न माग गरे ।
नेपाल पत्रकार महासंघ बेलायतका पूर्वबरिष्ठ उपाध्यक्ष श्याम लुँटेलले वेलायतमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्न स्थापना भएको शाखामा सदस्यता वितरणमा भएको विभेदले शाखाको औचित्य माथि प्रश्न उठेको बताए ।
उनले शाखामा नयां सदस्यता वितरणको प्रकृया सुरु गरेर सबै नेपाली पत्रकारहरुलाई महासंघको छाताभित्र ल्याएर मात्र महाधिवेशन हुनु पर्ने बताए । उनले वेलायतमा सक्रिय पत्रकारहरुलाई समेटेर सदस्यता वितरण गर्न आग्रह गरे ।
लुँइटेलले समाजलाई भ्रम पार्ने गरि कथित महाधिवेशनबाट निर्वाचित फर्जी कार्यसमितिको फोटो सेसन तथा खादामाला सहितको सम्मानप्रति सचेत रहन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्यताका लागि गत जुन महिनामा ६५ जनाले आवेदन दिएकोमा तत्कालिन अध्यक्ष ध्रुर्व अर्याल समूहले एक लौटी रुपमा सदस्यता वितरण गरेको आरोप लागेको छ । शाखाको सदस्य बन्न आवेदन दिएका २७ जना मध्ये सबै जानको आवेदन रद्ध गरेर रकम जफत गरे पछि शाखामा सदस्यता वितरण प्रकृया थप जटिल बनेको हो ।