लन्डन – बेलायतमा कार्यरत विज्ञ तथा पेशाकर्मीहरुले प्रवासी नेपालीलाई दोहोरो नागरिकता दिंदा नेपाललाई नै फाइदा हुने जनाएका छन्।
हाल बेलायतको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालासंगको अन्तरक्रियामा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) युकेसंग आबद्ध विज्ञहरुले त्यस्तो बताएका हुन्।
आइतबार दक्षिण पूर्वी लन्डनमा आयोजित एक अन्तरक्रियामा एक प्रस्तुति दिंदै नेपालको सन्दर्भमा दोहोरो नागरिकताको औचित्यको अध्ययन गर्न एसओएनपी युकेद्वारा गठित विज्ञ समितिका लिड डा ओम प्रसाद गौतमले अहिले संसारका झन्डै आधी मुलुकहरुले आफ्ना प्रवासी नागरिकहरुका लागि दोहोरो नागरिकताको व्यवस्था गरेको जनाए। उनले ७८% रास्ट्रहरुले आप्रवासी र प्रवासीहरुलाई कुनै न कुनै रुपमा आफ्नो नागरिकको रुपमा ग्रहण गरेको तर २२% देशहरुले पूर्ण रुपमा अस्वीकार गरेको जनाए। एशियाका ४८ मध्ये २०, यूरोपेली संघका २७ मध्ये २३ ओटा , अमेरिका महादेशका ९८% देशहरुले साथै अफ्रिकाका अधिकांश देशहरुले दोहोरो नागरिकता प्रदान गरेको उनले जानकारी दिए । सोमालिया, केन्या, घाना, दक्षिण कोरियाजस्ता देशहरुको उदाहरण दिंदै उनले दोहोरो नागरिकता मुलुकको सामाजिक तथा आर्थिक प्रगतिका लागि फाइदाजनक रहेको दावी गरे ।
सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स युकेका अध्यक्ष अध्यक्ष गजेन कटुवालले नेपालले अहिले सम्म लगानी र आर्थिक कुरामा मात्रै जोड दिंदै आएको बताउंदै अब प्रवासमा रहेको मानव पूँजीको उपयोगको बारेमा पनि सोच्न आग्रह गरे । ‘हामीसंग भएको विज्ञता नेपालको हितमा प्रयोग गर्न हामी लालायित छौं,’ उनले भने । उनले दोहोरो नागरिकता सम्बन्धी विश्वव्यापी अभ्यासको बारेमा अध्ययन गरेर सुझाव दिन संस्थाले एउटा स्वतन्त्र ‘सिस्टमेटिक रिभ्यु’ गर्न लागेको जानकारी दिए।
अध्ययन कार्यदलमा डा ओम गौतम (संयोजक), प्रा तेजेन्द्र फेराली, डा नारायण भट्टराई, डा रामजी पौडेल, डा बिदुर घिमिरे, डा बच्चु कैलाश कैनी, अध्यक्ष कटुवाल तथा पूर्व अध्यक्षहरु इ बिष्णु न्यौपाने तथा यादव श्रेष्ठ रहेका छन्। त्यस्तै रिभ्युअरमा प्रा डा सूर्य सुवेदी, डा राघव धिताल तथा कुल आचार्य रहेका छन्।
वरिष्ठ कांग्रेस नेता डा कोइरालाले विभिन्न क्षेत्रका विद्वानहरु एकै संस्थामा आएर नेपालको हितमा अध्ययन अन्सुन्धान गरि रहेको थाहा पाउँदा आफुलाई खुसी लागेको बताए। उनले दोहोरो नागरिकता सम्बन्धमा सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स युकेले स्वतन्त्र ‘सिस्टमेटिक रिभ्यु’ गर्न लागेको एकदमै राम्रो काम भएको बताउंदै यसको निष्कर्ष आफु हरु लाई उपलब्ध गराउन आग्रह गरे। उनले ग्लोबल मात्रै हैन मध्य पूर्व र युरोप बाट नेपाल जाने रेमिट्यान्सको डेटा पनि छुट्टा छुट्टै रुपमा हेर्न आग्रह गरे। उनले नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको भएता पनि त्यसलाई समयमै कार्यान्वयन नगरिएकाले विभिन्न समस्या हरु आएको जनाए।
” दोहोरो नागरिकतालाई म ठिक पनि भन्दिन, बेठिक पनि भन्दिन। तर यसको लागि प्रमाण तयार गर्दै गर्नुस, त्यो जरुरी छ,” कोइरालाले भने। उनले दुइ विशाल शक्ति राष्ट्रहरु, भारत र चिन, संग सीमा जोडिएकाले दोहोरो नागरिकताको विषय संवेदन शील बन्न पुगेको जनाए। यस बारे थप अध्ययन गर्न पनि उनले आग्रह गरे। “नेपालको समृद्धिमा तपाईंहरुको विज्ञता जरुरी छ। सहयोग जारी राख्नु होला,” उनले भने।
रोयल बरो अफ ग्रिनिचका मेयर जित रानाभाटले कमनवेल्थ राष्ट्रमा अन्य मुलुकले पनि सदस्यता लिन सक्ने भएकाले पर्यवेक्षक वा कुनै रुपमा जोडिन नेपाल लाई फाइदाजनक हुने सुझाव दिए। कार्यक्रममा सहभागीहरुले संविधानले एनआरएन नागरिकता दिइ सके पछि लाई भिसा लिन लगाउने नियम ठिक नभएको धारणा राखेका थिए। उनीहरुले तेश्रो पुस्ता पछि एनआरएन नागरिकता के हुन्छ ? भन्ने प्रश्न पनि गरेका थिए।
कार्यक्रममा संस्थाका महासचिव डा बिदुर घिमिरेले स्वागत गर्दै कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रमको सभापतित्व तथा सहजीकरण अध्यक्ष गजेन कटुवालले गरेका थिए भने उपाध्यक्ष डा रामजी पौडेलले प्रमुख अतिथि लगायत सबै सहभागीलाई धन्यवाद दिए।