१ भाद्र २०८२, आईतवार
Follow Us

‘शेष घलेबाट एकता सम्भव छैन, टिओआर सहितको पत्र फर्जी हो’: एनआरएनए पूर्वअध्यक्ष, कुमार पन्त

नेपालब्रिटेन संवाददाता
९ माघ २०८१, बुधबार २०:५०

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुमार पन्तले संस्थाको एकता र शेष घलेको कार्यशैलीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शेष घलेले संस्थाभित्र एकताको महाधिवेशनको नाममा मनोपली गर्न थालेपछि पन्तले बुधबार साँझ नेपालब्रिटेन डटकमसँग कुरा गर्दै भने, ‘शेष घलेको कार्यशैलीले संस्थामा एकता कायम हुन नसक्ने स्पष्ट देखिएको छ।’

पन्तले भने, ‘संस्थामा सबै पक्षसँग एकता होस् भन्ने चाहनामा केहि हदसम्म छलफल गरिएको थियो, तर शेष घलेको नियत संस्थामा एकता स्थापित गर्न भन्दा विभाजन तर्फ जानु जस्तो देखिन्छ। म यसमा पूर्ण असहमत छु।’

पन्तले घलेले संघका राष्ट्रिय समितिमा पठाएको पत्रबारे आफू अनविज्ञ रहेको पनि बताए। उनले भने, ‘हामीसँग कुनै छलफल भएको छैन। हामीले दिएको टिओआर होइन। उहाँले आफ्नो वकिलमार्फत जे लेखाएर पठाउनुभएको हो, त्यसबारे हामीलाई कुनै जानकारी छैन।’

पन्तले थप भने, ‘एकता महाधिवेशनमा सबै पक्षलाई समेटेर हुन्छ भने, अन्य कुनै अधिवेशनको पक्षमा हामी समर्थन गर्न सक्दैनौं। म सधैं गैरआवासीय नेपालीहरूको एकताको पक्षमा उभिएको छु। संस्थालाई बचाउन म कहिलेकाहीं पछि हटेको छु, तर संस्थालाई कमजोर बनाउन कुनै खेलमा म भाग लिने छैन’ उनले एनआरएनएका राष्ट्रिय समितिमा पठाइएको पत्रमा भएको आफ्नो हस्ताक्षर (नाम) पनि फर्जी भएको दाबी गरे।

यसअघि, पूर्वअध्यक्ष शेष घलेले बहुमतको आधारमा २०,००० मानिसलाई काठमाण्डौंमा उतारेर संघको महाधिवेशन गर्ने अभिव्यक्ति दिएका थिए।

गैरआवासीय नेपाली संघका उच्च स्रोतका अनुसार, घलेको पछिल्लो निर्णयप्रति संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने, संस्थापक नेता रामप्रताप थापा र कुल आचार्यले समेत असहमति जनाउँदै घलेको आलोचना गरेका छन्। यी सबै नेताहरू बृहत एकताको पक्षमा उभिएका थिए।

यसैबीच, संस्थाभित्र सबै पक्षसँग एकताको माहोल सिर्जना गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले सबै पूर्वअध्यक्ष र पूर्वसंरक्षकहरूको बैठक आयोजना गरेका छन्।

धेरै पढिएको