३ फाल्गुन २०८१, शनिबार
Follow Us

राप्रपामा महामन्त्री राणाको लाइन पारित भएपछि अध्यक्ष लिङ्देन सडक आन्दोलनमा

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८१, सोमबार ०६:१०

काठमाडौं। बहुमत सदस्यहरुले महामन्त्री धवलशम्शेर राणाको राजनीतिक कार्यपत्रको समर्थन गरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सडक आन्दोलन गर्न बाध्य भएका छन् ।

काठमाडौंमा तीन दिन चलेको केन्द्रीय कार्य समितिको वैठकको दौरान महामन्त्री राणाले अबको बाटो सडक संघर्ष भन्ने लाइन प्रस्तुत गरेका थिए । राजसंस्था, हिन्दू अधिराज्य पुनःस्थापना गर्न समान विचारधारा भएका दल, समूह, व्यक्ति, संस्था तथा अभियानसँग सहकार्य एकता गर्ने राजनीतिक कार्यदिशा प्रस्तुत गरेका थिए।

वैठकमा धारणा राख्ने ८५ प्रतिशत केन्द्रीय सदस्यले आन्दोलन र सहकार्य एकताको समर्थन गरे । अध्यक्ष लिङ्देनलाई उनको आन्दोलन प्रतिको निष्ठा बारे प्रश्न समेत राखे ।

राप्रपाको केन्द्रीय समितिको वैठकले चैतमा काठमाडौं केन्द्रीत आन्दोलन गर्ने । चैतपूर्व आन्दोनको माहोल सिर्जना प्रदेश र जिल्ला तहमा विभिन्न कार्यक्रम, र्याली गर्ने निर्णय गरेको छ ।

‘अध्यक्षज्यू, कार्यकर्ताबीच तपाईँ आन्दोलन चाहन हुन्न भन्ने बुझाइ छ, के त्यो सत्य हो ? के तपाईँ आन्दोलन चाहनु हुन्न ? राप्रपाले लक्ष्य प्राप्त गर्न आन्दोलन नगरे के गर्ने ?’ केन्द्रीय सदस्य भरत पाठकले लिङ्देनलाई सोधे ।

सहायक महामन्त्री प्रेम बलायरले महाधिवेशनको म्यान्डेट बमोजिम राप्रपा आन्दोलनमा जानुको विकल्प नभएको बताए । विधानको पूर्ण पालना हुनुपर्छ भने ।

सहायक महामन्त्री प्रविण थोकरले परम्पराको नाममा पुरानो विधान हैन, सामूहिक नेतृत्व र सहकार्यको मान्यता बोकेको वर्तमान विधान पालना गर्न अध्यक्षलाई सुझाए । विधानतः विभागहरु गठन गर्ने अधिकार केन्द्रीय समितिमा निहित छ, परम्पराको नाममा अध्यक्षले एकल निर्णय गर्न मिल्दैन, उनले भने ।

केन्द्रीय सदस्य जनकराज पाठकले आमाको दुध खाने बहादुरले पार्टी फुटाएर जाओस् भन्ने अध्यक्षको धारणा गलत छ भने । ‘हामी सब आमाको दुध खान्छौं तर पार्टी कदापि फुटाउदैनौं । पार्टीमा ल्याक्टोजन खानेले मात्र बस्न पाउने हो अध्यक्षज्यू ?’ पाठकले भने ।

अमेरिकी नागरिकलाई तपाईँले कार्यसम्पादन सदस्य मनोनीत गर्नु भएको भन्ने समाचार आएको छ, त्यसो गर्न मिल्छ? भनेर पाठकले अध्यक्षलाई सोधे ।

केन्द्रीय सदस्य धनसुर शाहीले आमाको दुध नखाने कोही हुनुहुन्छ ? हात उठाउनुहोस् भन्दा वैठकमा कसैले हात उठाएनन् । ‘देख्नुभयो अध्यक्षज्यू, आमाको दुध नखाने हामी कोही छैनौं तर कोही पनि पार्टी फुटाउँदैनौ, यही पार्टीमा बस्छौं ।’