परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखा परेको विवादका सम्बन्धमा मन्त्रालयले कानूनी माध्यमबाट निकास दिने बताएकी छिन् ।
परराष्ट्र मन्त्री देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसंग आइतवार सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै सर्वोच्च अदालतले दिएका दुवै फैसलालाई आधार बनाएर महान्याधिवक्ताको सुझावका आधारमा मन्त्रालयले संघको विवादमा निकास निकाल्ने बताएकी हुन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले मन्त्री देउवालाई गैरआवासीय नेपाली संघको थाइल्याण्डमा हुने युवा सम्मेलन र कम्बोडियामा हुने क्षेत्रीय सम्मेलनमा प्रमुखअतिथिको रुप सहभागी हुन पनि निमन्त्रणा दिएको छ । मन्त्री डा. देउवाले गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेर सबै पक्षलाई मन्त्रालयमा बोलाएर अनौपचारिक बैठक मार्फत समस्याको समाधान खोज्ने बताइन् ।
भेटमा मन्त्री देउवाले गैरआवासीय नेपाली नागरिकता दिएकाहरुलाई १० वर्षे भिषा प्रणाली अस्थाई प्रवन्ध नभएको बताउँदै संसदमा प्रस्तुत हुने प्रतिस्थापन विधेयकमार्फत गैरआवासीय नेपाली नागरिकता लिएपछि भिषा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाइन् ।
उक्त भेटमा अध्यक्ष डा केसीले एनआरएन ऐनलाई छिटै संसदमा लैजान अनुरोध समेत गरे । प्रतिनिधि मण्डलमा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना र एशिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई सहभागी थिए ।