लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीको फ्राङ्कफर्टमा गत आइतबार बसन्त पञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै एक भव्य साहित्यिक समारोहको आयोजना गरेको छ। अनेसास जर्मनी च्याप्टर अध्यक्ष सुजाता घिमिरे राउतको सभापतित्वमा आयोजित उक्त समारोहमा प्रमुख अतिथिका रूपमा जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपखेतीको गरिमामय उपस्थिति रहेको थियो।
विशेष वक्ताका रूपमा एनआरएनका संस्थापक तथा नियात्राकार जीवा लामिछाने र अनेसासका केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माईको सहभागिता रहेको उक्त कार्यक्रममा सयौंको संख्यामा नेपाली साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको प्रमुख संयोजन प्रतिक्षा पोख्रेलले गरेकी थिइन् भने खड्ग न्यौपाने, गौरब तिवारी र सीमा ढुंगानाबाट कार्यक्रम सञ्चालन गरिएको थियो।
समारोहमा बेल्जियम, नेदरल्याण्डलगायतका छिमेकी मुलुकहरूबाट समेत साहित्यकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बेल्जियमबाट साहित्यकारहरू क्रमशः पञ्चम अधिकारी, ब्रम्हदत्त वाग्ले, अनेसास बेल्जियम च्याप्टर महासचिव गोपाल दाहाल र जर्मनीबाट सागर फुयाल, लिलाराज कार्की, शिशिर परियार, मनोजकुमार यादव, सौरभ कर्ण, दिनेश प्रधान, यज्ञ अधिकारी, कृतन गौतम, सुमन सिम्खडा, हरि हुमागाईं, अजित खड्का, ईनेशराज सुवेदी, बाबुराम भण्डारी, मनोजबाबु पनेरु, कपिल अर्याल, लुकास लुईटेल, रविकिरण काफ्ले, सञ्जय पौडेल, विमल रानाभाट लगायत दर्जनौं कवि तथा साहित्यकारहरूले आफ्नो रचना वाचन गरेका थिए। समारोहमा कपिल अर्यालबाट पुस्तक चर्चा तथा सुवास सापकोटाबाट नेपाली साहित्य केन्द्रित हाजिरी जवाफ प्रतियोगिताको संयोजन गरिएको थियो। कार्यक्रमको सहजीकरण महासचिव रमण जैसेरी, एलिजा हुमागाँई, गणेश गजुरेल र निरज सोडारीले गर्नुभएको थियो।
लामो समयदेखि जर्मनीमा रही नेपाली साहित्य र समुदायलाई योगदान पुर्याएको बापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान गरिएको थियो। साथै, कार्यक्रमलाई महत्वपूर्ण सहयोग पुर्याउने होटल ट्रिप ईनका तर्फबाट “एनआरएनए” का पूर्व अध्यक्ष कुमार पन्तलाई कदर पत्रबाट सम्मान गरिएको थियो भने महामहिम राजदूतबाट विशेष सहयोगी तथा रचना वाचन गर्ने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। उक्त कार्यक्रमको आयोजनाबाट प्रवासमा नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुगेको विश्वास आयोजक र सहभागीहरूले व्यक्त गरेका थिए।
समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…” मा स्थानिय कलाकारहरूले सामूहिक साङ्गीतिक प्रस्तुति गरेका थिए।