लण्डन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरआवासीय नेपाली संघ (एनआरएन) भित्रको विवादप्रति चिन्ता व्यक्त गरेका छन्।
प्रवासी नेपाली मञ्च जापानको आयोजकत्वमा हुने कार्यक्रममा सहभागी हुन टोकियो पुगेका पोखरेलले एनआरएनका पूर्वअध्यक्ष शेष घलेको व्यक्तिगत इगोको कारण संघ विभाजनको संघारमा पुगेको बताएका छन्।
पोखरेलले भने, “उहाँले लामो समयसम्म संस्थाको नेतृत्व गर्नुभयो, पछि आफ्नी श्रीमतीलाई नेतृत्वमा ल्याउन चाहनु भयो। उहाँको चाहना सकेसम्म नेतृत्व आफैं वरिपरि राखिरहनु थियो।”
पोखरेलले घलेको नेतृत्वको चाहनाले संस्थाभित्र समस्या ल्याएको र उहाँले आफ्नो इच्छा अनुसार अगाडि बढ्न खोजेको बताएका छन्। “घलेले एकलौटी रूपमा आफ्नो मार्ग अपनाउनुभयो, तर उहाँको निर्णयमा प्रमुख दलहरू र सरकारी संयन्त्रको सहयोग थिएन,” पोखरेलले भने।
पूर्वमन्त्री पोखरेलले दुवै पक्षका निर्णयलाई समेटेर उचित समाधानको प्रयास गरिरहेको जानकारी दिए। “नेपालका प्रमुख दलहरू नेपाली कांग्रेस र एमालेबीच छलफल गरेर समाधान खोज्ने प्रयास गर्दैछौं,” उनले भने।
गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनका अध्यक्षका प्रत्यासी महेश श्रेष्ठलाई साक्षी राख्दै पोखरेलले थपे, “घलेले गरेको जवरजस्ती निर्णय सफल हुँदैन। हामी संघलाई बिग्रहको बाटोमा जान दिन्नौं।”