पोखरा । केन्याली धावक विल्सन चेरियुयिटले पोखरा म्याराथनमा २ घन्टा १७ मिनेट २४ सेकेन्डको कीर्तिमान कायम गरेका छन् । पोखरामा शनिबार १९ औं सफल पोखरा म्याराथनमा नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि अर्का केन्याली धावक जुलियस मुरियाली वाहोमको नाममा २ घण्टा १९ मिनेट ३६ सेकेन्डको कीर्तिमान थियो । जुलियस यसपल्ट दोस्रो भए ।
म्याराथनमा केन्याली धावककै वर्चस्व रह्यो । गत वर्षका विजेता जुलियस २ सेकेन्डले पछि परे । अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोग २ घन्टा १८ मिनेट २१ सेकेन्डबाट तेस्रो भए । च्याम्पियन विल्सनले ५ लाख, जुलियसले ३ लाख र ओनेसमसले २ लाख रुपैयाँ प्राप्त गरे । नेपाली धावक किरणसिंह बोगटीले चौथो, निरोज भट्ट क्षेत्री पाँचौं, रिखुलाल मगर छैटौं, दिनेशसिंह बोगटी सातौं र केन्याली धावक माइकल माथिया आठौं स्थानमा रहे । उनीहरूले क्रमशः ५० हजार, २० हजार, १५ हजार र १० हजार प्राप्त गरे ।
गण्डकी प्रदेशतर्फ म्याराथनमा निरोज भट्ट पहिलो बने । उनले २ घन्टा ३८ मिनेट २२ सेकेन्ड लगाए । रिखुलाल दोस्रो, दिनेशसिंह तेस्रो, मीनराशि बिक चौथो, अशोक बराम पाँचौं, सनम गुरुङ छैटौं र प्रितम गुरुङले आठौं स्थान प्राप्त गरे । उनीहरूले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १५ हजार, ८ हजार, ६ हजार र ४ हजार पाए ।
पुरुष २१ किमि हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले १ घन्टा ९ मिनेट ७ सेकेन्डबाट पहिलो, नेपाली धावक सन्तोषविक्रम विष्ट १ घन्टा ९ मिनेट ५६ सेकेन्डबाट दोस्रो, गजेन्द्र राई १ घन्टा १० मिनेट २ सेकेन्डबाट तेस्रो भए । उनीहरूले क्रमशः ७५ हजार, ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।
महिला हाफ म्याराथनमा ओलम्पियन सन्तोषी श्रेष्ठ १ घन्टा २० मिनेट ३ सेकेन्डबाट च्याम्पियन बनिन् । उनको पोखरा म्याराथनमा लगातार दोस्रो जित हो । केन्याली धावक स्वारोन जोनोटिक १ घन्टा २१ मिनेट ७ सेकेन्डबाट दोस्रो हुँदा १ घन्टा २३ मिनेट ८ सेकेन्डबाट पुष्पा भण्डारी तेस्रो भए । आस्मा बिक चौथो र द्रोपताकुमारी कठायतले पाँचौं स्थान हासिल गरे । उनीहरूले क्रमशः १ लाख ५० हजार, १ लाख, ७५ हजार, १५ हजार र ५ हजार रूपैयाँ प्राप्त गरे ।
पुरुष १० किमि दौड शुभम लामिछानेले ३६ मिनेट ५ सेकेन्डबाट जिते । राजेन्द्र तामाङले ३६ मिनेट १४ सेकेन्डबाट दोस्रो र बादल कार्कीले ३६ मिनेट ४७ सेकेन्डबाट तेस्रो भए । महिलातर्फ ३८ मिनेट ५६ सेकेन्डबाट सुमित्रा कुमारी चौधरी पहिलो भइन् । ४४ मिनेट ३२ सेकेन्डबाट आशा रावत दोस्रो र ४४ मिनेट ४३ सेकेन्डबाट नारायणी भण्डारी तेस्रो भए । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार प्राप्त गरे ।
५ किमि छात्रतर्फ सुगन लामिछाने, सुजन नेपाली र ईश्वर ढकाल क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदा छात्रातर्फ मेनुका अधिकारी, एन्जिला जिटी र साधना परियार क्रमशः पहिलो दोस्रो र तेस्रो भए । उनीहरूले क्रमशः १५ हजार, १० हजार ७ हजार प्राप्त गरे । भेट्रान्स पुरुष ५० वर्षमाथि दौडमा धर्म महर्जन पहिलो, रेवतबहादुर ढकाल दोस्रो र अभीनारायण अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ टोलमाया थापा पहिलो, दुर्गालक्ष्मी गुरुङ दोस्रो र राममाया गुरुङ तेस्रो भए । उनीहरूले क्रमशः १५ हजार, १० हजार र ७ हजार प्राप्त गरे । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरा रंगशालाबाट सुरु भएको म्याराथनको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरु गरेका थिए ।