सिन्धुली । परीक्षाको प्रश्नपत्र दिन्छु भन्ने प्रलोभन देखाएर आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलत्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको मरिण गाउँपालिका वडा नं. १ स्थित निमावि बसेरीमा कक्षा ८ मा पढ्ने १४ वर्षीया छात्रालाई सोही विद्यालयका बिज्ञान शिक्षक जाजरकोट भेरी नगरपालिका वडा नं. ९ का गोरख विकले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
परीक्षाको प्रश्नपत्र दिन्छु भनी कोठामा बोलाई बुधबार राति साढे १० बजेदेखि बिहीबार बिहान ३ बजेसम्म पटक पटक बलत्कार गरेको आरोप लागेका शिक्षक विकलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिलकुमार खड्काका अनुसार शुक्रबार विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक भेला भई छलफल गरी र वडाका वडाअध्यक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी हरिहरपुरगढीको टोलीले शिक्षकलाई नियन्त्रणमा लिएको थियो भने बालिकाको उद्धार गरेको छ ।
बलात्कार आरोपी शिक्षकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।