काठमाडौं। काठमाडौंमा राजसंस्थाको पक्षमा आइतबार शक्ति प्रदर्शन भएको छ। संवैधानिक राजतन्त्र पक्षधर राजावादी शक्ति प्रदर्शनबाट उत्साही देखिएका छन्। उनीहरूले राजसंस्था र राजाको पक्षमा नाराबाजी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गरेका छन्।
एक महिना लामो पोखरा भ्रमण सकेर शाह आइतबार दिउँसो काठमाडौं फर्किएका हुन्। काठमाडौं फर्किंदा पञ्चेबाजासहित राजावादीले शाहको स्वागत गरे। उनीहरूले ‘राजा आऊ, देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छ’ जस्ता नारा लगाएका थिए।
काठमाडौंस्थित त्रिभुवन विमानस्थल उत्रिएपछि पूर्वराजालाई विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले भेट गरेका थिए। पूर्वराजा शाहको स्वागतका लागि विमानस्थलबाहिर हजारौंको संख्यामा उहाँका समर्थकहरू भेला भएका थिए।
उनको पक्षमा जनलहर नै देखिएको थियो। उनीहरूले पूर्वराजा शाहलाई र्याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म पुर्याएका थिए। आइतबार बिहानैदेखि राजसंस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका थिए।
उनको स्वागत गर्नका विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आहृवान गरेका थिए। विमानस्थलबाहिर राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले समर्थकलाई सम्बोधन गर्दै राजतन्त्रको पक्षमा अभूतपूर्व जनसमर्थन सडकमा देखिएको बताएका थिए।