२४ असार २०८२, मंगलवार
Follow Us

यौन व्यवसाय खुला गर्नुपर्ने धारणा नराख्न कांग्रेस सचेतक घिमिरेलाई निर्देशन

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०८१, मंगलवार १३:२७

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली कांग्रेसको नभएको स्पष्ट पारेको छ । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए ।

तर कांग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले संसदमा यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उठाएको उनको नितान्त व्यक्तिगत भएको र पार्टीको आधिकारिक धारणा नभएको बताए ।

पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पंक्ति र जनमानस द्विविधामा नपर्न आग्रह गरे । त्यस किसिमको धारणा नराख्न घिमिरेलाई निर्देशन दिइएको पनि महतले बताए ।

बैठकमा राजावादीहरुको प्रदर्शनको बारेमा पनि छलफल भएको प्रवक्ता महतले बताए । सरकार परिवर्तनको कुरा नभएको र सर्वदलीय सरकारको चर्चा नभएको पनि महतको जिकिर थियो ।

सरकारले अझ प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनु तथा जनअपेक्षा धेरै रहेको तर सरकारको काम गर्ने क्षमता सिमित रहेको र क्षमताले भ्याएसम्म काम गर्नुपर्ने बताए । सरकारमा बस्नेहरुले कुनैपनि नागरिकले प्रश्न गर्ने ठाउँ दिनु नहुने महतको भनाई छ ।

धेरै पढिएको