१० जेष्ठ २०८३, आईतवार
Follow Us

सहमति नजुट्दा कांग्रेस संसदीय दलको नेता चयन स्थगित

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०८३, शुक्रबार ११:४२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा अन्तिम समयमा आएर चुनाव रोकिएको हो ।

निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार नयाँ मिति भने अहिलेसम्म तय गरिएको छैन । दलको नेता सहमतिमा चयन गर्ने प्रयासस्वरूप विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो ।

समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल सदस्य रहेका थिए । तर, संसदीय दलको नेता चयनमा पार्टीभित्र सहमति जुट्न सकेको छैन । सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच समेत मतैक्य हुन नसकेको बताइएको छ ।

सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मरा आङ्देम्बेलाई प्रस्ताव गरेका छन् ।

यसैबीच, समानुपातिक सांसद अर्जुननरसिंह केसीले सहमति नभए आफू चुनावी प्रतिस्पर्धामा उत्रिने संकेत दिइसकेका छन् । नेतृत्व चयनमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन स्थगित गरिएको हो।

धेरै पढिएको