इट्स अ वार बिटविन कन्ट्रोल एन्ड फ्रिडम – घले
लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको आयोजनामा मे महिनामा हुने भेलामा अध्यक्ष को बन्छ भन्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ ।
सर्वोच्च अदालतको गत चैत महिनाको पहिलो फैसलालाई आधार बनाएर घलेले सो भेलालाई गैरआवासीय नेपाली संघको एकता महाधिवेशन भएको दाबी गरेका छन्। तर संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापकहरू रामप्रताप थापा, भीम उदास, चिरञ्जीवी ढकाल, वर्तमान अध्यक्ष डा. बद्री केसीले घलेले मे महिनामा अधिवेशन गरे संस्था विभाजन हुनेतर्फ घलेलाई सचेत गराउँदै आगामी अक्टोबर महिनामा बृहत् एकता महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। तर घलेले सो प्रस्तावलाई ठाडै अस्वीकार गर्दै आएका छन्।
शेष घले निकट संघका एक अभियन्ताका अनुसार घलेले ‘डु अर डाई’ को रूपमा यो अधिवेशनलाई लिएका छन्। घलेले संघ सामाजिक संस्था भएको बिर्सेर एक कदम अघि बढेर भेलालाई ‘इट्स अ वार बिटविन कन्ट्रोल एन्ड फ्रिडम’ को संज्ञा दिएका छन्। स्रोतका अनुसार घलेले आगामी अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा मुख खोलेका छैनन्। तर विदेशस्थित केही नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरू र माओवादी निकट अभियन्ताहरूले साथ दिएको आधारमा घले यो घेरा भन्दा बाहिर जानसक्ने अवस्थामा छैनन्।
घलेको भेला पछि दरिलो नेतृत्व गर्न सक्ने केही पदाधिकारीहरू घलेको उच्चस्तरीय समितिको सदस्यमा रहेका छन्। तर घलेद्वारा निर्माण गरिएको कार्यविधिले उनीहरूलाई उम्मेदवार बन्न रोक लगाएको छ। संघका अभियन्ताहरू रविना थापा, कुल आचार्य, विनोद कुँवर, डा. केशव पौडेल लगायतका नेतृत्व लिन सक्नेहरूलाई घलेको कार्यविधिले रोक लगाएको छ।
स्रोतका अनुसार घलेले आगामी बैठकमा कार्यविधि परिवर्तन गरेर उच्चस्तरीय समितिको सदस्यबाट राजीनामा गरेर उम्मेदवार बन्न पाउने व्यवस्था गर्न लागेका छन्। घलेले कार्यविधि परिवर्तन गरे भने अध्यक्ष पदमा पहिलो दाबी रविना थापाको हुन सक्ने बताइएको छ।
स्रोतका अनुसार माओवादी निकटहरूले आरके शर्मा वा विनोद कुँवरको नाम चर्चा गरे पनि जनसम्पर्क समिति निकट अभियन्ताहरूको पहिलो रोजाइ महेश श्रेष्ठ, दोस्रो डा. केशव पौडेल र तेस्रोमा रविना थापा मध्ये एक हुने अपेक्षा गरिएको छ। यद्यपि उनीहरूको चाहना श्रेष्ठलाई बनाउने भए तापनि, श्रेष्ठले भने बृहत् एकता कायम नभएसम्म नेतृत्वमा नजाने अडान लिएका छन्। उनले यसअघि ५ बुँदे एकताको प्रस्ताव अघि सारेर अक्टोबरमा बृहत् एकताको महाधिवेशन गर्न आग्रह गरेका थिए। कतिपयले श्रेष्ठले मे महिनामा नेतृत्व लिए भने संस्थापन पक्षसँग वार्ता गरेर अक्टोबर महिनामा एनआरएनए एउटै बन्न सक्ने अनुमान समेत गरेका छन्।
अन्य पदाधिकारीहरू जानकी गुरुङ, गंगाधर गौतम, शैलु अधिकारी, कृष्ण गिरी लगायतका व्यक्तिहरू घलेको रोजाइमा परेका छन्। गुरुङले महासचिव पद लिए गौतम उपाध्यक्ष पदमा जाने अनुमान गरिएको तर गौतमका आँखा भने महासचिव पदमा रहेका छन्। घलेले कार्यविधिमा परिवर्तन गरेनन् भने संघको पदाधिकारी भेट्न समेत मुश्किल पर्ने छ।
अन्य उपाध्यक्षमा लोक दाहाल (बेल्जियम), चित्र सुवेदी (बेल्जियम), सुनिल शाह (अमेरिका), बुद्धि सुवेदी (अमेरिका), आरके त्रिपाठी (यूके), पूर्ण हमाल (पोर्चुगल), तिलक गैरे (पोर्चुगल), विमल सुवेदी (कतार), नरेन्द्र भाट (कतार) को दाबी रहने अपेक्षा गरिएको छ।
एनआरएनए १२ औं महाधिवेशन अक्टोवरमा
यसैबीच गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय बैठकले संघको १२ औं महाधिवेशन आगामी अक्टोवर महिनाको ११ तारिखबाट सुरु गर्ने निर्णय गरेको छ । कम्वोडियामा दुई दिन सम्म चलेको बैठकले संघका राष्ट्रिय समितिलाई एमआइएस प्रणाली मार्फत सदस्यता वितरण गर्न आग्रह गरेको छ ।
संघले प्राप्त गरेको कुनै पनि कानूनी हक परित्याग नगरि संघले सम्मानित सर्वोच्च अदालतका फैसलाहरुको मनसाय र भावनालाई सम्मान गर्दै सरल निकास खोज्न पर्ने टड्कारो आवश्यक्ता देखिएको छ । यसर्थ आगामी मिति २०८२/०६/२५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा हुने गरी तय भएको संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनलाई सहयोग र सहकार्य गर्न सम्पूर्ण एनसीसीहरूमा हार्दिक अपील गर्दै त्यसअघि उक्त महाधिवेशनको तयारीका लागि यस संघले तयार गरेको Membership Information System (“MIS”) प्रणाली मार्फत सदस्यता खुल्ला भइसकेका एनसीसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसीसीहरूमा तत्काल सुरु गर्न पुनः अनुरोध गर्दछौं। गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) अनुसार सन् २०२५ साल जुलाई महिनामा एनसीसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरि सक्न सम्मेलनमार्फत आग्रह गरिएको छ ।’