१० बैशाख २०८२, बुधबार
Follow Us

एनआरएनए पूर्वअध्यक्ष शेष घले बेलायतमा

नेपालब्रिटेन डट कम्
९ चैत्र २०८१, शनिबार १९:०९

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले बेलायत भ्रमणमा छन्।

घले आइतवार अल्डरशटमा आयोजना हुने गैरआवासीय नेपालीहरुको भेलालाई सम्बोधन गर्न बेलायत आएका हुन्। उनले शनिबार अल्डरशटमा आयोजित गैरआवासीय नेपाली नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै, आफ्नो कार्यकालमा गैरआवासीय नेपाली नागरिकता संविधानमा समावेश गराउन सफल भएको बताए। साथै, उनले आगामी दिनमा वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि अभियान जारी रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, प्रेम गाहामगर, पूर्वउपाध्यक्ष थर्क सेनलगायतले वंशजको नागरिकताको निरन्तरता र भूपू गोर्खाको नागरिकता अधिकारका विषयमा आफ्ना विचार व्यक्त गरे।

एनआरएनए बेलायतका पूर्वमहासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेको उक्त अन्तरक्रियामा सहभागीहरुले संघका हालका विवादलाई सम्बोधन गर्दै नेताहरु मिलेर अघि बढ्नुपर्ने धारणा राखे। उनीहरुले मे महिनामा हुने एनआरएनए भेलाबाट संस्थामा एकता कायम हुन सक्ने सम्भावना रहेको भन्दै सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरे।

कार्यक्रममा एक दर्जनभन्दा बढी गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता, संघको एकता लगायतका विषयमा शेष घलेलाई प्रश्न गरेका थिए।

घलेले सोमवार बेल्जियममा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गरेपछि पोर्तुगल जाने बताइएको छ।