१० बैशाख २०८२, बुधबार
Follow Us

विदेशी नागरिकता लिएकाले कांग्रेस क्रियाशिल सदस्यता नपाउने, नेपाली जनसम्पर्कलाई लगाम (पत्रसहित)

नेपालब्रिटेन डट कम्
११ चैत्र २०८१, सोमबार ०२:०६

लण्डन । कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिमा आवद्ध पार्टीका शुभचिन्तकहरूलाई दुई थरी सदस्यता वितरण गर्ने व्यवस्था पारित गरेको छ । कांग्रेस महामन्त्री गगन थापाले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनसम्पर्क समितिलाई वितरण गरिने दोहारो सदस्यता प्रणालीबारेको प्रस्ताव पारित गरेको हो ।

अबदेखि विदेशी नागरिकता प्राप्त व्यक्तिहरूले जनसम्पर्क समितिको सदस्यता र नागरिकता नलिएकाहरूले क्रियाशील सदस्यता पाउने भएका हुन् । नागरिकता प्राप्त व्यक्तिहरू जनसम्पर्क समितिको पदाधिकारी चयन गर्न पाउने भएपनि पार्टी महाधिवेशनमा भोटर हुने अवसरबाट भने बन्चित हुने भएका छन । यसअघि पार्टीमा यस्तो व्यवस्था थिएन । कतिपय नागरिकता लिएकाहरूले पार्टी पार्टी महाधिवेशनमा भाग लिएका थिए ।

पार्टीको केन्द्रीय महाधिशेनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्छ । त्यसका लागि पार्टीको क्रिायशील सदस्यता हुनुपर्ने अनिवार्य व्यवस्था पार्टी विधानमा छ । ‘अब नागरिकता प्राप्त एनआरएन जनसम्पर्क समितिको सदस्य हुन पाउँछन्। तर पार्टीको भोटर भएर आउन पाउदैनन् । भोटर हुनका लागि क्रियाशील सदस्यता नै हुनुपर्छ, क्रियाशील सदस्यता भएकाहरूले मात्रै महाधिवेशन प्रतिनिधि भएर आउन पाउँछन्,’ केन्द्रीय सदस्य तथा प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने ।

जनसम्पर्क समितिको पदाधिकारी चयन गर्नका लागि भने जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्ने गैरआवासीय नेपाली परिचयपत्र वा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई बाधा नपुग्ने व्यवस्था उल्लेख गरिएको छ । ‘पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन अनिवार्य हुनेछ’ निर्णयमा भनिएको छ ।

जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था पनि आइतबारको निर्णयसंगै हटेको छ ।