लण्डन । विवादित पाँचतारे होटल टाइगर प्यालेस फेरि बिक्री भएको छ। भैरहवास्थित उक्त होटललाई सोल्टी होटल समूहले किनेको हो।
डेढ वर्षअघि गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका पूर्व अध्यक्ष बुद्धिप्रसाद सुवेदीले यो होटल खरिद गरेको दाबी गरेका थिए। मुख्य लगानीकर्ता सुवेदी भए पनि एनआरएनका केही अभियन्ताहरू समेत संलग्न थिए।
पाँच-छ जना लगानीकर्तामार्फत शून्य लागतमा हङकङमा स्थापना गरिएको नेपोलियन टाइगर इन्भेष्टमेन्ट (एलएलसी) ले टाइगर प्यालेस खरिद गरेपछि यो विषय विवादमा तानिएको थियो। हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीद्वारा सञ्चालित उक्त होटल सुवेदी नेतृत्वको टिमले खरिद गरेको बताइए पनि लगानीको स्रोतबारे स्पष्टता नभएको विवाद थियो। यो लगानी विदेशबाट भित्रिएको हो वा नेपालकै कुनै बैंकको ऋण संकलन गरिएको थियो भन्ने विषय अन्योलमै थियो।
स्रोतका अनुसार, होटल रामादाले अब टाइगर प्यालेसको व्यवस्थापन र क्यासिनो सञ्चालनको जिम्मा लिने तयारी गरिरहेको छ। सरकारी जग्गामा बनेको यो होटलबारे अदालतले भवन भत्काउन आदेश दिएपछि यसको स्वामित्व हस्तान्तरणमा जटिलता देखा परेको थियो।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका, कोटिहवा क्षेत्रको १५ बिघा क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा करिब ५ अर्ब रूपैयाँ लगानी रहेको छ।
यसअघि, कम्पनीले ३९३ जना नेपाली कामदारलाई रोजगारीबाट हटाएको थियो। सोही विषयमा कम्पनीविरुद्ध ६२ करोड रूपैयाँ क्षतिपूर्ति मागदाबी सहित अदालतमा मुद्दा दायर गरिएको छ।
साढे १२ सय कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टभित्र सार्वजनिक तथा सरकारी नहरसमेत रहेको छ। रिसोर्टले २३ कठ्ठा सरकारी जग्गामा क्यासिनो, सभाहल, स्विमिङ पुल, रेस्टुरेन्ट लगायतका संरचना निर्माण गरेको छ।