१० बैशाख २०८२, बुधबार
Follow Us

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्यता नियममा संशोधन

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०८१, बुधबार १४:१०

काठमाडौं । बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने पूर्वघोषित नियममा नेपाल राष्ट्र बैंकले संशोधन गरेको छ । बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशनमार्फत तीन महिना नपुग्दै राष्ट्र बैंकले यो व्यवस्था परिमार्जन गरेको हो ।

राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा सेवाग्राहीको राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमार्फत यकिन गरी खाता खोल्नुपर्ने व्यवस्था गरेको थियो ।

तर, नयाँ संशोधित व्यवस्थाअनुसार विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजातको आधारमा पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तो खातावालाले नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ । नयाँ निर्देशना अनुसार प्रवासी नेपालीलाई वित्तीय पहुँचमा ल्याउन सहजीकरण गर्ने उद्देश्यले यो संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ ।