१ असार २०८२, आईतवार
Follow Us

प्रवासी नेपाली मञ्च बेलायतमा निर्वाचनको तरङ्ग, एमाले महासचिव शंकर पोखरेल बेलायत आउने

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८२, सोमबार १३:३४

लन्डन। नेकपा एमालेका महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेल आगामी जुन १३ तारिख लन्डन आउने भएका छन्। उनी प्रवासी नेपाली मञ्च, बेलायतको ९ औं अधिवेशनको उद्घाटन गर्न बेलायत आउन लागेका हुन्। अधिवेशन व्यवस्थापन समितिका संयोजक पशुपति पोख्रेलका अनुसार पोखरेलले जुन १५ मा मिडल्याण्डमा आयोजना हुने अधिवेशनमा विशेष सम्बोधन गर्नेछन्।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा यूरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डे र वेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेको विशेष उपस्थिति रहनेछ। पोखरेल जुन १७ मा नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ।

अधिवेशनलाई भव्य, सभ्य र सफल बनाउन मञ्चले हाल कार्यरत कार्यकारिणी समितिलाई मूल समिति मानेर थप आठवटा कार्यगत समितिहरू गठन गरेको छ। अधिवेशन व्यवस्थापन समितिको संयोजक पशुपति पोख्रेल हुन् भने सदस्यहरूमा गोविन्द सापकोटा, तारा भण्डारी, पदम गोले र शम्भु अर्याल छन्।

निर्वाचन समिति संयोजकमा कर्ण शाही, उपसंयोजकमा सरस्वती केसी छन्। सदस्यहरूमा दिनेश घिमिरे, बिनोद ज्ञवाली, रामचन्द्र गुरुङ, केदार थपलिया र तिलक भट्टराई छन्।

प्रतिनिधि व्यवस्थापन समितिको संयोजक बालकृष्ण भुसाल, प्रचार–प्रसार समितिको संयोजक श्याम लुइँटेल, आर्थिक व्यवस्थापन समितिको संयोजक पुण्य रेग्मी, प्रतिवेदन लेखन समितिको संयोजक तुङ्ग भुसाल, अतिथि सत्कार समितिको संयोजक कृष्ण भण्डारी र स्वयंसेवक परिचालन समितिको संयोजक मुकुन्द बास्तोला रहेका छन्।

मञ्चले सबै संयोजक र सदस्यहरूलाई मूल समितिसँग समन्वय गर्दै यथाशीघ्र समिति बैठकहरू सञ्चालन गरी जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ। साथै, सदस्यता नविकरण गरिसकेका सबैलाई अधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन समयमै तयारी गर्न अनुरोध गरिएको छ।

अध्यक्ष पदका लागि पशुपति पोख्रेल, कृष्ण भण्डारी लगायतका आकांक्षीहरूको नाम चर्चामा आएको छ, जसले अधिवेशनलाई अझ रोचक बनाएको छ।