१ असार २०८२, आईतवार
Follow Us

“गोर्खा कपको २३ औँ संस्करण अन्तिम तयारीमा, २५  मे आइतबार हुँदै”

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८२, आईतवार ०८:१९

लन्डन । गोर्खा कपको २३ औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक तमुधिँ यूकेले शनिबार मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत २५ मे आइतबार हुने गोर्खा कपका तयारीबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा खेलकुद सचिव एवं गोर्खा कप संयोजक दीपक घलेले बिहान ९:३० बजेबाट खेल प्रारम्भ भई साँझ ८ बजे समापन हुने जानकारी गराए । उनले यस पटक मेन क्याटेगोरीतर्फ ३२ टिम, भेट्रानतर्फ १६ टिम, र महिलातर्फ दुई टिमले प्रतिस्पर्धा गर्ने बताए ।

मेन क्याटेगोरी विजेताले ३,००० पाउन्ड, उपविजेताले १,८०० पाउन्ड ; भेट्रान विजेताले १,५०० पाउन्ड, उपविजेताले १,००० पाउन्ड ; तथा महिला विजेताले ६०० पाउन्ड र उपविजेताले ४०० पाउन्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा तमुधिँ यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपमा सहभागिताका लागि बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने मिडिया सेक्रेटरी एस. के. गुरुङले सञ्चारकर्मीको परिचय गराए । संस्थाका अध्यक्ष गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले सञ्चारकर्मीलाई ‘टोकन अफ लभ’सहित सम्मान गरे ।

टिम ड्र संयोजक हिराबहादुर गुरुङ, सह–संयोजक कुमार घले र सल्लाहकार कुमार गुरुङले टिम ड्र गरेका थिए । अध्यक्ष गुरुङ, गोर्खा कप संयोजक दीपक घले तथा आमा समूह अध्यक्ष कमलादेवी गुरुङलगायतले ड्र गरेका थिए ।

सो अवसरमा संस्थाका पूर्व अध्यक्ष तथा ट्रस्टी हितकाजी गुरुङ, ट्रस्टी एवं संस्थापक कोषाध्यक्ष सूर्य गुरुङ, सल्लाहकार क्याप्टेन राजु गुरुङ, मेजर टेमबहादुर गुरुङ, ले. चन्द्र गुरुङ, डेभिड गुरुङ, धनकाजी गुरुङ, श्रीमती हुमकुमारी गुरुङ, सल्लाहकार एवं आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङ, गोरे गुरुङ, लोक गुरुङ, मेजर कृष्ण गुरुङ, एबी गुरुङलगायतलाई अध्यक्ष गुरुङले सम्मान गरे ।

हर्क गुरुङ प्रतिष्ठानका तर्फबाट लोक गुरुङले अध्यक्ष गुरुङलाई प्रमाणपत्र प्रदान गरे । आजीवन सदस्यहरूलाई पनि प्रमाणपत्र प्रदान गरियो ।

यस्तै, आमा समूहकी पूर्व महासचिव यशोदा गुरुङले आमा समूह अध्यक्ष गुरुङलाई १० वटा टिसर्ट र ७ वटा टोपी हस्तान्तरण गरिन् । यशोदाले गत वर्ष ४० वटा टिसर्ट प्रायोजन गरेकी थिइन् ।

उक्त अवसरमा तमुधिँ यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्ष तथा एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हरि गुरुङ तथा सल्लाहकार सूर्य गुरुङ, ले. रि. चन्द्रबहादुर गुरुङ, दिलरास गुरुङ, डेभिड गुरुङ, पुनम गुरुङलगायतको उपस्थिति थियो ।