नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा अर्थविद् विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
‘विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ, तीन जनाको नाम सिफारिस भएको थियो,’ उनले भने।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले मंगलबार अपराह्न विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
यसअघि मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गभर्नर नियुक्तिका विषयमा छलफल भएको थियो। उक्त छलफलमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।