अमेरिकाको टेक्सासस्थित हार्लिन्जेन शहरमा रहेको एक आशंकास्पद गोदाम-घरमा अवैध आप्रवासीहरू लुकाइएको सूचना पाएपछि अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा विभाग (ICE) ले छापा मारेर १६ जना आप्रवासीलाई नियन्त्रणमा लिएको छ।
आईसले जुन १ तारिखमा एक अज्ञात व्यक्तिबाट पाएको सूचनाका आधारमा मर्सिडिज क्षेत्रमा रहेको उक्त घरमा छापा मारेको हो। मर्सिडिज प्रहरी विभागसँगको सहकार्यमा गरिएको सो अपरेशनमा १६ जना अवैध आप्रवासी पक्राउ परेका हुन्। तीमध्ये केही नेपाली रहेको जनाइएको छ, तर यकिन सङ्ख्या खुलाइएको छैन।
आईस अधिकारीहरूले घरधनीसँगको प्रारम्भिक सोधपुछमा उनले करिब १६ जना मानिसलाई घरभित्र राखेको स्वीकार गरेका छन्। आईसको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन विभागका रियो ग्रान्डे भ्याली क्षेत्रका डेपुटी स्पेसल एजेन्ट इन-चार्ज मार्क लिप्पाले जनाएअनुसार, “यो अपरेशनले मानव तस्करीविरुद्धको संघर्षमा जनसहभागिता र स्थानीय कानून कार्यान्वयन निकायहरूको महत्त्वपूर्ण भूमिका देखाउँछ। अन्तर्राष्ट्रिय आपराधिक सञ्जालहरूले आर्थिक लाभका लागि मानिसहरूको ज्यान जोखिममा पारिरहेका छन्। आईसले यस्ता आपराधिक गतिविधिमा संलग्नहरूलाई कारवाही गर्ने प्रयासलाई निरन्तरता दिनेछ।”
पक्राउ परेकामध्ये नेपाली, अल्बेनियन, मेक्सिकन, होन्डुरन र ग्वाटेमालाली नागरिक रहेको आईसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनीहरूलाई अमेरिकी आप्रवासन कानून उल्लङ्घन गरेको आरोपमा हिरासतमा राखिएको छ।
तीमध्ये एक जना मेक्सिकन नागरिकमाथि मानव तस्करीमा संलग्न रहेको आशंकामा थप सोधपुछ भइरहेको छ। अनुसन्धान अझै जारी रहेको बताइएको छ, र यस प्रक्रियामा अमेरिकी बोर्डर पेट्रोल र अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले सहकार्य गरिरहेको जानकारी दिइएको छ।