३० श्रावण २०८२, शुक्रबार
Follow Us

युक्रेनको अपरेशन ‘स्पाइडर वेब’ ले रूस ‘सरप्राइज’, कसरी भयो आक्रमण ?

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०८२, बुधबार ०३:५३

काठमाडौँ । युक्रेनले हालै रुसको एयरबेसमा गरेको आक्रमणलाई अहिलेसम्मकै अभूतपूर्व आक्रमण भनिएको छ ।जुन १ मा, १०० भन्दा बढी युक्रेनी ड्रोनहरूले आणविक हतियार बोक्न सक्षम लामो दूरीको बमवर्षक विमानहरूलाई लक्षित गर्दै रूस भित्रका वायुसेना अड्डाहरूमा आक्रमण गरे । अपरेशनलाई ‘स्पाइडर वेब’ नाम दिइएको थियो । जब रूसका धेरै भागहरूबाट विस्फोटका रिपोर्टहरू आउन थाले, यसले रुसलाई ‘सरप्राइज’ गर्यो । यी आक्रमण युक्रेनबाट ८ हजार किलोमिटर टाढासम्म गरिएका थिए ।रूसी रक्षा मन्त्रालयले यी आक्रमणहरू उनीहरूको देशका पाँच क्षेत्रहरू- मुर्मान्स्क, इर्कुत्स्क, इभानोभो, रियाजान र अमुरमा भएको पुष्टि गरेको छ तर मुर्मान्स्क र इर्कुत्स्कमा मात्र विमानहरू क्षतिग्रस्त भएको र अन्यत्रका आक्रमणहरू विफल पारिएको दाबी गरेको छ ।युक्रेनको सैन्य गुप्तचर एजेन्सीले दिएको जानकारी अनुसार, ड्रोनहरू काठका क्याबिनहरूमा लुकाइएको थियो र ट्रकहरूको मद्दतले रूसमा ढुवानी गरिएको थियो । यी क्याबिनहरू टाढाबाट सञ्चालित छानामुनि लुकाइएको थियो । यी ट्रकहरूलाई विमानस्थलहरूमा लगिएको थियो, जसका चालकहरूलाई ट्रकहरूमा राखिएका सामानहरूको वास्तविकताको बारेमा कुनै जानकारी थिएन । त्यहाँ पुगेपछि, ड्रोनहरू प्रक्षेपण गरिएको थियो र लक्ष्यतिर पठाइएको थियो ।

अनलाइन भिडियोमा, ट्रकबाट ड्रोन निस्किरहेको देख्न सकिन्छ । एक ट्रक चालकले रूसी राज्य मिडिया रिया नोवोस्तीलाई भने अनुसार उनी र अन्य चालकहरूले ढुङ्गा हानेर ड्रोनलाई उडानबाट रोक्न खोजेका थिए ।रूसी टेलिग्राम च्यानल ‘बाजा’ बाट अपुष्ट रिपोर्टहरू अनुसार, धेरै ट्रक चालकहरूले उनीहरूलाई रूसका विभिन्न स्थानहरूमा काठका क्याबिनहरू पुर्‍याउन व्यवसायीहरूले बुक गरेको बताएका छन् । केही चालकहरूले पछि फोनमा ट्रक कहाँ पार्क गर्ने भन्ने बारे निर्देशन प्राप्त गरेको बताए । जब उनीहरूले ट्रक पार्क गरे, त्यसपछि ड्रोनहरू बाहिर निस्किरहेको देखेर छक्क परेका थिए । अपरेशनको निरीक्षण गरिरहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साहसी आक्रमणमा ११७ ड्रोनहरू प्रयोग गरिएको र जसको तयारी गर्न १६ महिना ६ दिन लागेको बताएका छन् । उनले एउटा लक्ष्य रूसी सुरक्षा सेवा कार्यालयको छेउमा भएको समेत बताएका छन् ।

रूसले आक्रमणको सम्बन्धमा केही मानिसहरूलाई हिरासतमा लिइएको बताएको छ, तर जेलेन्स्कीका अनुसार, अपरेशनमा मद्दत गर्नेहरूलाई ‘रूसी क्षेत्रबाट हटाइएको र अब उनीहरु सुरक्षित रहेको बताएका छन् ।युक्रेनको सुरक्षा सेवा कार्यालयले साझा गरेका तस्बिरहरूमा काठको क्याबिनमा भण्डारण गरिएका दर्जनौं कालो ड्रोनहरू देखिएका छन्, जुन रूसी सैन्य ब्लगरहरूले चेल्याबिन्स्कमा रहेको गोदामको रूपमा पहिचान गरेका छन् ।रुसमा गरिएको यो आक्रमणमा प्रयोग गरिएका ड्रोनहरू सामान्य क्वाडकोप्टरहरू थिए जसले भारी विस्फोटक पदार्थ बोक्न सक्थे । आक्रमणलाई असाधारण बनाउने कुरा यी ड्रोनहरू रूसमा तस्करी गरिएको र त्यसपछि उपग्रह वा इन्टरनेट लिङ्कहरू मार्फत टाढाबाट सञ्चालन गरिएको, भएको बताइएको छ ।जेलेन्स्कीले ११७ ड्रोनहरू मध्ये प्रत्येकको आफ्नै पाइलट भएको दाबी गरेका छन् ।

युक्रेनले ड्रोनहरू कहाँबाट पाएको भनेर बताएन, तर युद्ध सुरु भएदेखि नै यसले ड्रोन निर्माणमा ठूलो प्रगति गरेको छ र सम्भवत यी ड्रोनहरू युक्रेन आफैले बनाएको हुनसक्ने भनिएको छ ।युक्रेनका अनुसार, ४१ रणनीतिक बमवर्षकहरूलाई लक्षित गरिएको थियो र ‘कम्तिमा’ १३ नष्ट गरिएको छ । रुसले केही विमानहरू क्षतिग्रस्त भएको स्वीकार गरेको छ।क्यापेला स्पेसद्वारा साझा गरिएको रडार उपग्रह छविहरूले बेलाया एयरबेसमा कम्तिमा चार रूसी बमवर्षकहरू गम्भीर रूपमा क्षतिग्रस्त वा नष्ट भएको देखाउँछन् ।रूससँग कति ए-५० छन् भन्ने थाहा छैन, तर फेब्रुअरी २०२४ मा युक्रेनी सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले यो संख्या आठ रहेको बताएका थिए । त्यसैले पनि यो क्षति रूसको लागि ठूलो धक्का भएको मानिएको छ  ।युक्रेनले यो अपरेशन ‘स्पाइडर वेब’ ले रूसलाई ७ अर्ब डलरको क्षति पुर्‍याएको दाबि गरेको छ ।

धेरै पढिएको