काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसहरूलाई अमेरिका आउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका छन् । उनले यो कदम अमेरिकाको सुरक्षा र जनताको जीवन रक्षाको लागि आवश्यक रहेको बताएका छन् ।प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । यो प्रतिबन्ध जुन ९ देखि लागू हुने छ । यी बाहेक ७ देशका नागरिकहरूमा पनि आंशिक प्रतिबन्ध लगाइएको छ । यो आप्रवासन र गैर-आप्रवासन भिसा दुवैमा लागू हुनेछ ।
जसमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।अमेरिकी विदेश विभागका अनुसार, पूर्ण प्रतिबन्धको अर्थ त्यो देशका अधिकांश नागरिकहरूलाई अमेरिका प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध हुने छ । यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम भिसा र आप्रवासी भिसा खोज्ने व्यक्तिहरू समावेश रहेको विदेश बिभागले जनाएको छ ।
अर्कोतर्फ, आंशिक प्रतिबन्धको अर्थ त्यो देशका नागरिकहरूका लागि केही विशिष्ट प्रकारका भिसा वा प्रवेश प्रतिबन्धित हुने छन् ।साथै ट्रम्पले अन्य देशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधान रहन आग्रह गरेका छन् ।