१ असार २०८२, आईतवार
Follow Us

एनआरएनए १२औं महाधिवेशनः निर्वाचन तथा न्यायिक समिति गठन

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०८२, सोमबार ००:१९

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी १२औं महाधिवेशनको तयारी तीव्र बनाएको छ।

संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार २०८२ साल असोज २४ देखि २७ गतेसम्म (११–१४ अक्टोबर २०२५) काठमाडौंमा हुने विश्व सम्मेलन तथा महाधिवेशनका लागि आवश्यक तयारी सुरु गरिएको छ।

उनका अनुसार, आइतबार बसेको संघका पदाधिकारीहरुको बैठकले विधानअनुसार नयाँ नेतृत्व चयन गर्न निर्वाचन समिति गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। निर्वाचन समिति आयुक्तहरूको चयन भने संघको आगामी केन्द्रीय (आइसीसी) समिति बैठकबाट गरिनेछ।

त्यसैगरी, राष्ट्रिय परिषदमा देखिएको सदस्यता वितरणसम्बन्धी विवादको न्यायिक निरूपण गर्न एक न्यायिक समिति गठन गरिएको छ। साथै, अन्तर्राष्ट्रिय समितिको निर्वाचनको पर्यवेक्षणका लागि छुट्टै समिति पनि गठन गरिएको छ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिषदको निर्वाचन फेस भेरिफिकेसन प्रणालीमार्फत अनलाइन माध्यमबाट गर्ने निर्णय गरेको छ।

महासचिव गौरीराज जोशीको सञ्चालनमा सम्पन्न बैठकले महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी अघि बढाउन केन्द्रीय कार्यालयलाई निर्देशन दिएको छ।

त्यसैगरी, एमआईएस (मेम्बर इन्फरमेशन सिस्टम) प्रणालीमार्फत सदस्यता वितरण नगर्ने राष्ट्रिय समितिहरूलाई संघमा आबद्ध नगर्ने निर्णय पनि गरिएको छ। साथै, ती समितिहरूको सट्टामा वैकल्पिक उपाय तुरुन्त खोज्ने निर्णय लिइएको छ।