काठमाडौं । बागमती प्रदेश १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा टिम च्याम्पियन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सम्पन्न तीन दिने प्रतियोगितामा बागमती कुल ३६ स्वर्णसहित टिम च्याम्पियन भएको हो । बागमतीले सात रजत र ११ कास्य पदक जित्यो । गत वर्षको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो ।
त्यस्तै, लुम्बिनी पाँच स्वर्ण, १३ रजत र १५ कांस्य पदक प्राप्त गरी तेस्रो, गण्डकी ४ स्वर्ण ११ रजत र १७ कास्य पदकसहित चौथो तथा कर्णालीले ४ स्वर्ण, ६ रजत र १९ कास्य पद जित्दै पाँचौ स्थान हासिला ग-यो । मधेश प्रदेश तीन स्वर्ण, २ रजत र १० कास्यसहित छैठौँ स्थानमा रहँदा स्वर्ण पदकविहीन बन्दै पुछारमा रहेको कोशीले ७ रजत र ८ कास्य पदक प्राप्त गरेको छ ।
स्थानीय तहबाट नै छनोट गरी युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य गरी दुई सय ३० पदकका लागि प्रतिस्पर्धा गरेका थिए । एथलेटिक्समा सबैभन्दा धेरै २६ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो । त्यसमा बागमतीले १२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्न बलियो साथ दिएको हो ।
१८ वर्ष मुनी उमेर समूहका विद्यार्थीले प्रतिष्पर्धा गरेको रनिङ शिल्डमा उसु, तेक्वान्दो, कराते, भलिबल, कबड्डी र एथलेटिक्स गरी कुल ६ विधामा प्रतिस्पर्धा भएको थियो । टिम च्याम्पियन टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गरेका थिए ।