काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुरक्षा विज्ञ बालानन्द शर्मालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन ।
शर्माले शुक्रबारै शपथ पनि लिइसकेका छन् । यसअघि परराष्ट्र मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी थिइन् । नेपाली सेनाका अवकाश प्राप्त रथी शर्मा सैन्य रणनीतिकार मानिन्छन् । सुरक्षा विज्ञको रुपमा उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा काम गरिसकेका छन् ।
शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि रुचाएका व्यक्ति पर्छन् । ०७८ सालमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेला शर्मालाई कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त गरिएको थियो ।
त्यसअघि यसको प्रमुखमा ईश्वर पोखरेल थिए । ओलीले शर्मालाई सीसीएमसी प्रमुखमा नियुक्त गरेपछि त्यसबेला सकारात्मक प्रतिक्रिया आएका थिए । ०६७ मंसिरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले माओवादी लडाकु रेखदेख, अनुगमन र पुनःस्थापनासम्बन्धी विशेष समितिले लडाकुलाई नियन्त्रण गर्नेगरी गठित सचिवालयको संयोजकमा नेपाली सेनाका पूर्वरथी शर्मालाई नियुक्त गरेको थियो ।
शर्मालाई नियुक्त गर्नुपर्ने प्रस्ताव माओवादीको थियो । सचिवालय संयोजक कसलाई बनाउ भन्नेमा तीन महिनादेखि सरकार र माओवादीबिच रस्साकस्सी चलिरहेको थियो । माओवादीले पूर्व लडाकु नन्दबहादुर पुनलाई संयोजक बनाउन चाहेको थियो तर सरकारलाई मान्य भइरहेको थिएन । पछि माओवादीले शर्मालाई प्रस्ताव गरेपछि सहमति भएको थियो ।