प्रवासी नेपाली मञ्च, वेलायतको महाधिवेशन (फोटो फिचर)
लन्डन । नेकपा एमालेका महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आउन नसकेको बताएका छन्।
पोखरेलले प्रवासी नेपाली मञ्च, वेलायतको नवौं महाधिवेशनलाई आइतवार लेस्टरमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।
उनले भने, “आज धेरैले प्रश्न गर्छन्—पोखरा र भैरहवामा विमानस्थल किन बनाइयो? पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअघि वार्षिक ४ लाख पर्यटक आउँथे, अहिले त्यो संख्या १२ लाख पुगेको छ। यसलाई प्रगति मानेन भने के मान्ने?”
उनले भूराजनीतिक स्वार्थ र प्रतिस्पर्धाका कारण नेपालमा बनेका विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको स्पष्ट पारे। पोखरेलले युरोपेली संघ (EU) द्वारा नेपाली विमानहरूलाई युरोपमा निषेध गरिएको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे। “नेपाली जहाजहरू अष्ट्रेलिया वा मध्यपूर्वमा सुरक्षित हुन्छन् भने तिनै जहाजहरू युरोप आउँदा असुरक्षित ठहरिनु न्यायोचित छैन,” उनले भने।
महासचिव पोखरेलले नेपाली जनताको प्रतिव्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै देशका आर्थिक सूचकहरू सकारात्मक दिशामा अगाडि बढिरहेको बताए। उनले नेपाल दक्षिण एशियामा सामाजिक सुरक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको मुलुक भएको दाबी पनि गरे।
“हामी परराष्ट्र नीतिमा समान व्यवहारको पक्षमा छौं। फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध बनाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ भन्ने एमालेको स्पष्ट नीति हो,” पोखरेलले जोड दिए।
उनले देशभर ६७ हजार किलोमिटर सडक सञ्जाल विस्तार भएको, विद्यालय शिक्षामा लैंगिक असमानता अन्त्य भएको, मातृ मृत्युदरमा उल्लेखनीय गिरावट आएको जस्ता सूचकहरू देशमा प्रगति भइरहेको प्रमाण भएको बताए। जलविद्युत क्षेत्रमा एमाले नेतृत्वमा उल्लेखनीय काम भएको पनि उनले स्मरण गरे।
गैरआवासीय नेपालीहरूको सहभागिता बिना नेपालको समृद्धि सम्भव नभएको भन्दै पोखरेलले प्रवासी नेपालीका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
यसै सन्दर्भमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले भने, “गैरआवासीय नेपाली संघले स्थापना कालदेखि नै नागरिकताको विषयमा आवाज उठाउँदै आएको छ, तर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा आधारित नागरिकता अझै पनि दुई वर्षे भिसामा सीमित छ।”
डा. शर्माले विदेशमा रहेका नेपालीहरू र नेपालमा रहेका नेताहरूबीच दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताए। उनले विदेशी विश्वविद्यालयहरूमा अध्ययनरत नयाँ पुस्तालाई राज्यसँग जोड्न विशेष नीतिहरू आवश्यक रहेको सुझाव दिए।
गैरआवासीय नेपाली संघका वर्तमान कार्यसमितिमा एमालेको प्रभाव रहेको भन्ने आरोपलाई खारेज गर्दै डा. हेमराज शर्माले भने, “डा. बद्री केसी नेतृत्वको कार्यसमितिमा ८० प्रतिशत लोकतन्त्रवादीहरू छन्। त्यसैले एमालेको भन्ने आरोप आधारहीन हो।”
कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाली दूतावासको सेवा स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डसम्म विस्तार गर्नेतर्फ आफूहरू प्रयत्नशील रहेको जानकारी दिए। उनले एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) वृद्धि गर्न र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रवासी नेपाली मञ्च वेलायतका अध्यक्ष टुंगा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष संजय थापा, राष्ट्रिय स्वतन्त्र पार्टी वेलायतका अध्यक्ष पवन शर्मा, सरस्वती केसीलगायतले शुभकामना मन्तव्य दिएका थिए।