क्यालिफोर्निया । सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट जनरलको कार्यालय स्थापनाको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। हालै मात्र सान फ्रान्सिस्को आइपुग्नुभएका कन्सुलर जनरल लक्ष्मण खनालको पहलमा कार्यालय स्थापनाका लागि उपयुक्त स्थान छान्ने कार्य तीव्र पारिएको छ।
कन्सुलर जनरल खनालले सान फ्रान्सिस्कोस्थित स्थानीय सरकारी निकायका प्रतिनिधि, समन्वयकर्ताहरू तथा नेपाली समुदायका अगुवाहरूसँग औपचारिक तथा अनौपचारिक छलफल गर्दै कार्यालय स्थापनाका सम्भावित स्थानहरूको निरीक्षण गर्नुभएको छ। उहाँको नेतृत्वमा भइरहेको यो प्रक्रिया अब छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।
खनालले सान फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग पनि भेटघाट गरी कन्सुलेट कार्यालयको औचित्य र सम्भाव्य लाभबारे जानकारी दिनुभएको छ। उहाँले समुदायको सहभागिता, सुझाव र समर्थनले प्रक्रिया अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
कन्सुलेट कार्यालय स्थापनाले नेपाली नागरिकका लागि राहदानी, नागरिकता प्रमाणिकरण, कागजात प्रमाणीकरण जस्ता कन्सुलर सेवाहरू सहज रूपमा उपलब्ध गराउनेछ। साथै, यसले अमेरिका–नेपाल सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
नेपाली कूटनीतिक उपस्थितिलाई पश्चिमी अमेरिका विशेषगरी सान फ्रान्सिस्को बे एरियामा विस्तार गर्ने यो कदम ऐतिहासिक हुने विश्लेषकहरूले बताएका छन्। कन्सुलेट कार्यालयले आप्रवासी नेपाली समुदायको हितमा दीर्घकालीन रूपमा काम गर्ने अपेक्षा गरिएको छ।