स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।
मंगलबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गरुरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । स्कटल्यान्डका माइकल लिस्क र सफियान सरिफले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९ ओभर ४ बलमा ९७ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका लागि माइकल लिस्कले ४४ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ४ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो पहिलो जीत हो । जीतसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड तीनै टोलीको समान २ अङ्क भएको छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड्स पुछारमा छ ।
सोमबार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो भने पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । नेपालले बिहीबार नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल शुक्रबार घरेलु टोलीसँग खेल्नेछ ।
तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।