लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्कटल्याण्ड क्षेत्रीय समितिको पहिलो बैठक संयोजक जगन्नाथ (गोकर्ण) भुसालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण तथा विस्तारका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा पार्टीमा आवद्ध हुन धेरै नेपालीहरूको उत्साहजनक चासो देखिएको निष्कर्ष निकाल्दै सबैलाई समेट्ने उद्देश्यले सल्लाहकार मण्डल तथा विभिन्न उपसमिति गठन गर्ने निर्णय गरिएको छ। साथै, सदस्यता विस्तार अभियानलाई तीव्रता दिने निर्णय गर्दै, देश–विदेशमा रहेका इच्छुक नेपाली नागरिक तथा उनीहरूका परिवार, आफन्तहरूलाई सदस्यतामा आवद्ध गराउने रणनीति तय गरिएको छ।
बैठकमा उप–सचिव भोजराज खरेलले आफ्नो घर पछाडि रहेको हल पार्टी कार्यालयका रूपमा बिना भाडा प्रयोग गर्न दिन सहमति जनाएका छन्, जसअनुसार सोही स्थानलाई राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्डको आधिकारिक कार्यालयका रूपमा प्रयोग गरिने निर्णय गरिएको छ। कोषाध्यक्ष माधव भण्डारी र उप–कोषाध्यक्ष पूर्ण प्रसाद कँडेल (पुरन) को पहलमा पार्टीको आफ्नै बैंक खाता खोल्ने प्रक्रिया सुरु गर्ने निर्णय पनि बैठकमा गरिएको छ। साथै, संगठनात्मक निरन्तरताका लागि प्रत्येक महिना नियमित रूपमा बैठक बस्ने निर्णय समेत लिइएको छ।
बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति विशेष आभार प्रकट गर्दै उनको दृढ नेतृत्व, निर्भीकता र परिवर्तनप्रतिको प्रतिवद्धता सबैका लागि प्रेरणा भएको निष्कर्ष निकालेको छ। संयोजक गोकर्ण भुसालले भने, “उहाँको अभियानले लाखौँ नेपालीको मन छोएको छ। सत्यको जित हुने नै छ, हामी संगै अघि बढ्नेछौं।” बैठकको स्थान तथा खानाको व्यवस्था उप–संयोजक पदमलाल खरेल र उनकी धर्मपत्नी सिना तिवारी खरेलले गरेका थिए, जसप्रति बैठकले आभार व्यक्त गरेको छ।
बैठकमा गोकर्ण भुसाल संयोजक, पदमलाल खरेल उप–संयोजक, माधव भण्डारी कोषाध्यक्ष, पूर्ण प्रसाद कँडेल (पुरन) उप–कोषाध्यक्ष, देवेन्द्र कैदी पुरुष सचिव, भोजराज खरेल उप–सचिव चयन गरिएको छ। सदस्यहरूमा हरि सापकोटा, गगन कँडेल, गणेश पौडेल र पुष्कर खतिवडा छन्। सल्लाहकार मण्डलमा काशीराम भण्डारी, सागर भण्डारी, नरिस्वर खरेल, शिवकान्त खरेल, युवराज तिवारी, गमलाल गैरे र कृष्ण सापकोटा रहेका छन्। थप सल्लाहकारहरू पछि समावेश गरिने जनाइएको छ।