काठमाडाैं — इरानले कातार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल आक्रमण गरेको जनाएको छ। शनिबार इरानका परमाणु केन्द्रहरूमा भएका हवाई प्रहारको जवाफस्वरूप उक्त मिसाइल प्रहार गरिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानी सेनाले कातारको अल-उदेद अमेरिकी सैन्य बेसमा मिसाइल प्रहार गरिएको दाबी गर्दै आकाशमा देखिएका धुवाँका पाता सार्वजनिक गरेका छन्।
कातार सरकारले अमेरिकी सञ्चालनमा रहेको सो बेसमा आक्रमण भएको पुष्टि गर्दै यसलाई “गम्भीर अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन” भनेको छ। साथै, कातारी सरकारले आवश्यक परेमा प्रत्यक्ष प्रतिक्रिया जनाउने अधिकार आफूले सुरक्षित राखेको चेतावनी दिएको छ।
स्थिति तनावग्रस्त बनेपछि कातारले आफ्नो हवाई आकाश अस्थायी रूपमा बन्द गरेको छ। त्यहाँ रहेका अमेरिकी र बेलायती नागरिकलाई सुरक्षित स्थानमा बस्न सुझाइएको छ।
यता, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प केहीबेरमै राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सहभागी हुँदैछन्। ह्वाइट हाउसले ट्रम्पले इरानमा ‘शासन परिवर्तन’को विषय उठाएको उल्लेख गर्दै, “उहाँले केवल प्रश्न उठाउनु भएको हो,” भनेर स्पष्टिकरण दिएको छ।
यसैबीच, इजरायलले तेहरानमाथि “अभूतपूर्व बल” प्रयोग गरेर आक्रमण जारी राखेको जनाएको छ। इजरायली स्रोतका अनुसार आक्रमणमा फोर्डो परमाणु केन्द्र र एभिन कारागारतर्फ जाने मार्गहरूलाई लक्षित गरिएको छ।
क्षेत्रीय तनाव एकाएक चुलिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरिरहेको छ।