२५ असार २०८२, बुधबार
Follow Us

एनआरएनए महासचिवको निर्देशन: राष्ट्रिय अघिवेशन समयसिमा भित्र गर्नु

नेपालब्रिटेन संवाददाता
१२ असार २०८२, बिहीबार १८:५५

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले सबै राष्ट्रिय समन्वय परिषद्हरूलाई १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप कानूनी व्यवस्था पालना गर्दै सदस्यता वितरण तथा राष्ट्रिय महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

संघको महासचिव जोशीले जुन २६ मा जारी गरेको औपचारिक पत्रमार्फत आगामी अक्टोबर ११ देखि १४ तारिखसम्म नेपालमा हुने १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आवश्यक कानूनी प्रक्रिया र मापदण्डबारे स्पष्ट रूपमा ध्यानाकर्षण गराएका छन्।

जोशीले उल्लेख गरेअनुसार, संघको विधान २००३ (संशोधित २०२२) को दफा २४.१ अनुसार प्रत्येक राष्ट्रिय समन्वय परिषद्ले आफ्नो राष्ट्रिय महाधिवेशन सन् २०२५ जुलाई १ देखि ३१ भित्र सम्पन्न गर्नुपर्नेछ। साथै, महाधिवेशन प्रतिनिधिहरूको विवरण आगामी अगष्ट ३१ भित्र संघको सचिवालयमा पेश गर्नुपर्ने व्यवस्था पनि स्मरण गराइएको छ।

उनले संघको सदस्यता सम्बन्धी व्यवस्थाको सन्दर्भमा “Membership Information System” को प्रयोगलाई अनिवार्य मान्दै, त्यही प्रणालीमार्फत मात्र पञ्जिकृत सदस्यता वितरण गर्नुपर्ने कानूनी बाध्यता दोहोर्याएका छन्। सदस्यता आवेदनको क्रममा फेसियल भेरिफिकेशन समेत आवश्यक हुने प्रावधानबारे पनि उनले जोड दिएका छन्।

महासचिव जोशीको निर्देशन अनुसार, यदि कुनै राष्ट्रिय समन्वय परिषद्ले अहिलेसम्म सदस्यता खुला नगरेको खण्डमा यथासिघ्र सदस्यता खुला गरी वितरण प्रक्रिया अघि बढाउनुपर्नेछ। साथै, राष्ट्रिय महाधिवेशन सँगै सन् २०२५–२०२७ कार्यकालको कार्यसमिति निर्वाचन समेत समयमै सम्पन्न गर्न उनले आग्रह गरेका छन्।

महासचिवको निर्देशनमा भनिएको छ, “उक्त प्रक्रिया २०७८ को ‘राष्ट्रिय महाधिवेशन सञ्चालन तथा एनसीसी सम्बन्धन सम्बन्धी नियमावली’ अनुरूप हुनुपर्छ, र त्यो नगरेमा विधानको दफा १७.७.२ अनुसार सम्बन्धित परिषद्को मान्यता फिर्ता गरिन सक्नेछ। यसबारे निर्णय १९ जनवरी २०२५ मा सम्पन्न १०औं अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय तथा कार्यालय पदाधिकारीको बैठकमा भइसकेको र १०३ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अनुमोदन गरिसकेको जानकारी समेत दिइएको छ।”

उनले अन्त्यमा सबै परिषद्हरूलाई यो निर्देशनको पालना गर्दै २०७५ असार १२ (२८ जून २०२५) बेलुका ५:०० बजेभित्र सचिवालयमा जानकारी पठाउन स्पष्ट आग्रह गरेका छन्।

धेरै पढिएको