लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियममा एकता महाधिवेशन गर्ने प्रक्रिया अघि बढेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी बेल्जियमका संयोजक लोकन्द्र नेपालले आइतवार एक विज्ञप्ति जारी गर्दै बेल्जियममा सहयोग, समझदारी र साझा प्रयासको माध्यमबाट एक बलियो, समृद्ध र सम्मानित साझा नेपाली समुदाय निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
विज्ञप्तिमा, एनआरएनए बेल्जियममा निर्वाचित कार्य समिति रहेको अवस्थामा विगत लामो समयदेखि कार्य समितिमा भएकाहरूलाई पाखा लगाउने, केन्द्रको विधि विधान र निर्देशन समेत नमान्ने, संस्थामा चरम गुटबन्दी गर्ने, केन्द्रीय चुनावमा तटस्थ बस्नुपर्नेमा संस्थापन पक्षको खुल्लमखुल्ला विरोध गर्ने, निर्वाचित केन्द्रीय समितिका पदाधिकारीहरूको बेल्जियममा आगमन भएको बेला स्वागत गर्न समेत हिचकिचाउने जस्ता कार्यले सबैको साझा संस्था एनआरएनए विवादमा आएर यो परिस्थिति आएको यहाँहरूलाई जानकारी गराउन चाहन्छु उल्लेख छ ।
विज्ञप्तिमा, अहिले हामी सबैको साझा कर्तव्य हाम्रो समाजलाई एकताबद्ध, संगठित र सशक्त बनाउनु हो। एनआरएनए अभियानलाई अझै मजबूत र प्रभावकारी बनाउन हामी सबैको साझा जिम्मेवारी र प्रतिबद्धता आवश्यक रहेको उल्लेख छ ।
उनले विज्ञप्तिमार्फत तदर्थ समितिका संयोजकको हैसियतले बेल्जियमको सिङ्गो समाजलाई गैरआवासीय नेपाली संघप्रति कुनै भ्रममा नपरी निकट भविष्यमा हुन गइरहेको निर्वाचनबाट नयाँ कार्यसमिति गठन गरी संस्था र समाजलाई चलायमान बनाउन र समाजमा हार्दिकता, एकता र सद्भाव समेत कायम गर्न बेल्जियमस्थित नेपाली समुदाय, सामाजिक, वैचारिक, क्षेत्रीय, जातीय सबै संघसंस्था, समाजसेवी व्यक्तित्व, अग्रज बुबाआमा, दाजुभाइ, दिदीबहिनी सबैलाई हार्दिक अपिल गरेका छन् ।
विज्ञप्तिमा हाम्रो साझा ध्येय भनेको बेल्जियममा रहेका नेपालीहरूलाई एकीकृत गर्दै आपसी विश्वास, समझदारी र समर्पणको भावनालाई प्रोत्साहन गर्नु हो। यो अभियान सबैको हो, सुझाव र सहयोगको अपेक्षा रहेको उल्लेख छ ।
विज्ञप्तिमा, तदर्थ समितिप्रति तपाईंहरूको अमूल्य सुझाव, सल्लाह, सहयोग र मार्गदर्शनको हार्दिक अपेक्षा गर्दछु। आगामी दिनमा समितिका कार्यदिशा र योजनाहरू क्रमशः बैठकमार्फत सार्वजनिक गरिनेछ। हामी बेल्जियममा सहयोग, समझदारी र साझा प्रयासको माध्यमबाट एक बलियो, समृद्ध र सम्मानित साझा नेपाली समुदाय निर्माण गर्नेछौं भन्ने प्रतिबद्धताका साथ आगामी दिनमा एकीकृत सशक्त समाज निर्माणका लागि साथ दिन सबैमा हार्दिक अपिल गरिएको छ ।
यसअघि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०५ औं बैठकको निर्णयअनुसार सिता सापकोटाको नेतृत्वमा रहेको एनसीसी बेल्जियमको आबद्धता फिर्ता लिएको थियो ।
संघको सदस्यता वितरण, राष्ट्रिय महाधिवेशन लगायतका आवश्यक संस्थागत काम अगाडि बढाउन नेपालकै संयोजकत्वमा १३ सदस्यीय गैरआवासीय नेपाली संघ बेल्जियमको नयाँ तदर्थ समिति गठनमा केन्द्रीय समितिले दिएको जिम्मेवारी प्रदान गरिएको छ ।