लण्डन । गैरआवासीय नेपाली संघको एकता अधिवेशनपछि नेतृत्वमा दाबी गरेका महेश कुमार श्रेष्ठले पूर्वअध्यक्षहरू “मुखदर्शक” बनेर बस्दा संस्था विवादमा परेको आरोप लगाएका छन्।
श्रेष्ठले बुधबार एक भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थामा विवाद उत्पन्न हुँदा पूर्वअध्यक्षहरूले चुप लागेर बस्न नहुने तर्क गरे।
उनले भने, “संस्थामा विवाद छ। डा. बद्री केसीको टिमले संस्था कब्जा गरेर बसेको छ। सर्वोच्च अदालतको परमादेशबाट बनेको हाम्रो समितिलाई काम गर्न दिइएको छैन। तर पूर्वअध्यक्षहरू भीष्मपितामह जस्तो भएर बस्न मिल्दैन। तपाईंहरू नबोलेरै समस्या आएको हो। संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षहरू चुप लागेर बस्ने होइन। पुछ्लागेर बस्दा संस्थाको समस्या समाधान हुँदैन। सहिलाई सही भन्नै पर्छ। समानान्तर समिति गठन गर्न हुन्न भन्ने कुरा नाजायज हो?”
श्रेष्ठले थपे, “हामी कानुनकै प्रयोग गरेर अधिकार स्थापित गरेर काम गर्छौं। पूर्वअध्यक्षहरूले पनि बोल्नुपर्छ। ‘एनसीसी भंग गर्नु हुँदैन’ भनेर भन्नुपर्छ। भीष्मपितामह जस्तो भएर बस्न मिल्दैन। सहीलाई सही भन्नै पर्छ। हामी चुप लागेर बस्दैनौं। वैधानिक तरिकाले अब अफिसमा नै जान्छौं।” उनले संस्थापन पक्षले समानान्तर समिति गठन गर्नु उचित नभएको पनि बताए।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले एकताको महाधिवेशनपछि, परराष्टबाट पत्र पाइसकेपछि र फैसला कार्यान्वयन निर्देशनालयबाट त्यस अनुसारको पत्राचार पछि संघको केन्द्रीय कार्यालयमा प्रवेशमा रोकटोक गर्ने कुरै हुँदैनथ्यो । अधिवेशनपछि वद्रीजीसहित पूर्व अध्यक्षहरुसँग कुरा भइरहेकाले वार्ता मिल्न सक्छ भनेर बलजफ्ती नगरेकै हो । जहाँ सम्म वैधानिकताको कुरा छ अहिले हेमराजजीले विधानको हवाला दिएर भ्रम फिजाउने काम गर्नुभएको छ,” उनले भने।
बद्रीजीहरुले गर्नु भएको पत्राचारलाई खारेज गरेका छौं । त्यसको कुनै औचित्य छैन । समानान्तर कमिटी गठन गर्नु गम्भीर विषय हो । हामी फुटाउन र विभाजन गर्नुहुँदैन भन्ने पक्षमा छौं । अमेरिकामा म जाँदा दुई कमिटीलाई मिलाउने आधार तयार पारेर आएको हुँ । त्यसमा डा अर्जुन बन्जाडे र सूर्य लम्सालले असाध्यै राम्रो भूमिका खेल्नु भयो । त्यो सहमतिको आधार तयार भएको हो,” उनले भने।
“सर्वोच्चले भनेको मान्छौं, त्यो अवधिसम्म एनसीसी नचलाउ भनेका छौं । आइसीसीको विवाद मिलाउन सकिन्छ तर एनसीसी विभाजित भयो भने गाह्रो हुन्छ त्यसका लागि हामीले पहल गर्नुपर्छ । एनसीसी स्वायत्त संस्था भएकाले उनीहरुलाई चलाउन हुँदैन विधानको हवाला दिँदै अवस्था भाँड्न खोज्नु भयो । एनसीसीमा देखिएको अन्यौल हटाउने जिम्मेवारी हाम्रो हो । तर]सबै त्रसित छन् । हामी समानान्तर कमिटी बनाउन नहुने पक्षमा छौं,” उनले भने। उनले पूर्व अध्यक्षहरु एवं संस्थापक अध्यक्षलाई समानान्तर कमिटी बनाउने काम रोक्न र समस्या समाधानका लागि भूमिका खेल्न आग्रह गरे।
“अहिले नागरिकताको विषयमा ड्राफ्ट हुँदैछ । हामीले नागरिकता लगायतका मुद्दाहरु स्थापित गर्नका लागि लाग्नु पर्नेमा यो लफडामा परेका छौं । नेपालमा पूँजी भित्र्याउनका लागि हामीले पहल गर्नु पर्छ । हामी अब विश्वासयोग्य हुनुपर्छ । हामीले एकताको लागि इमान्दार प्रयास गरिरहेका छौं । यो प्रयासमा सबै एनसीसीहरुले साथ दिनुहोस् । सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्छौं,” अध्यक्ष श्रेष्ठले भने ।
एनआरएनए अभियन्ता आरके शर्माले आफुले गएको ५, ७ बर्ष देखि नै एनसीसी नफुटाउनुहोस भन्दै आएको स्मरण गरे । “एनसीसी स्वायत्त छन् । तपाईंहरुको होडवाजीले कुनै पनि गरिबको छोराले प्रहरीमा धाउनु पर्ने अवस्था नपरोस् । दुवईमा यसअघि एनसीसी डिजल्भ हुँदा ४० पटक दुवईका स्थानीय निकायमा धाउनु परेको थियो । सवै सम्मानित साथीहरु एनसीसीमा हुनुहुन्छ । समाजको हितमा काम गरौं । आम नेपालीको समस्या समाधानका लागि लाग्नु पर्छ । एनसीसीहरु धैर्य गर्नु होस् । निकास केही समयपछि निस्किन्छ । आइसीसीका लागि एनसीसीहरु नफुटाइदिनुहोस्,” उनले भने।
एनआरएनए आइसीसीका उपाध्यक्ष सुनिल साहले एनआरएनएमाथि गम्भीर संकट आएको भन्दै सबै एक हुन जरुरी भएको बताए। प्रवक्ता गंगाधर गौतमले एनसीसीहरु स्वायत्त छन् भन्दै एनआरएनएको नाउँमा विभाजन ल्याउन नहुने बताए। एनआरएनए आइसीसीका पूर्व उपाध्यक्ष केशव पौडेलले एनआरएनए आन्दोलनको २२–२३ वर्षको अवधिमा विगत केही समयदेखि खराब अवस्थाबाट गुज्री रहेको बताए । आज हामी जुन अवस्थामा पुगेका छौं यो राम्रो अवस्था होइन । एनसीसीहरुमा विभाजन भयो भने अवस्था जटिल हुन्छ, उनले भने।
कार्यक्रममा एनसीसी बेल्जियमकी पूर्वअध्यक्ष सीता सापकोटा, एनआरएनए युएईका पूर्वअध्यक्ष विकास शाही, एनसीसी थाईल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, एनआरएन अभियन्ताहरु थर्क सेन, कुल कडेल लगायतले केन्द्रको विवाद जारी रहंदा एनसीसीहरुलाई फुटाउन नहुने बताएका थिए।